Friday, December 5, 2025
Homeफिचरयस्तो छ ओलीले जेनजीलाई लेखेको पत्र, व्यवस्था नबदल्न अनुरोध

यस्तो छ ओलीले जेनजीलाई लेखेको पत्र, व्यवस्था नबदल्न अनुरोध

यो व्यवस्थाको नै कत्लेआम गर्ने प्रयास भइरहेको छ, यसमा तिमीहरू संवेदनशील हुन जरूरी छ

काठमाडौंः निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलन सफल भइसकेको भन्दै व्यवस्था परिवर्तन नगर्न आग्रह गरेका छन् । ओलीलगायत केही नेता र निवर्तमान मन्त्रीहरुलाई नेपाली सेनाले शिवपुरीमा नेपाली सेनाको सुरक्षामा राखेको छ ।

यस्तो छ निवर्तमान प्रधानमन्त्री ओलीले लेखेको पत्रः

प्रिय जेनजी बाबुनानीहरू,
आज शिवपुरीको यो एकान्त सुरक्षाघेराभित्र बसेर, नेपाली सेनाका जवानहरूको बीचमा, म तिमीहरूलाई सम्झिरहेको छु । मेरो मनमा तिमीहरूकै अनुहारहरू नाचिरहेका छन् । जहाँ गए पनि, जहिले पनि, साना नानीबाबुहरू मलाई देख्नेबित्तिकै मेरो काखमा आइपुग्छन् ।

तिनीहरूको निश्छल हाँसो, त्यो सानो शरीरको न्यानो स्पर्शले मभित्र एउटा अद्भूत आनन्द भर्छ । मलाई बच्चाहरूको वरिपरि रहन पाउँदा साँच्चिकै रोमाञ्चित महसुस हुन्छ । शायद तिमीहरूलाई थाहा छैन, व्यवस्था परिवर्तनको त्यो कठोर लडाइँमा, त्यो बेलाको सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन् । तर पनि, ‘बा’ बन्ने मेरो रहर कहिल्यै मरेन, कहिल्यै सेलाएन ।

जब मैले सुनेँ, प्रहरीको गोलीले मेरा छोराछोरीहरूको जीवन समाप्त भयो, त्यस दिनदेखि मेरा लागि धेरै कुराहरू सकिएका छन् । त्यो पीडाको घाउ आज पनि आलै छ ।

तैपनि, मैले सधैं समाजमा शान्ति स्थापित हुनुपर्छ भन्ने मान्यता राखेँ ।

तिमीहरूलाई याद होला, २०५१ सालमा जब म गृहमन्त्री थिएँ, त्यो मेरो कार्यकालमा राज्यको तर्फबाट एउटा पनि गोली चलेन । म सधैं शान्तिको पक्षमा उभिएँ, किनकि मैले आफ्नै जीवनमा हिंसाको क्रुरता भोगेको छु ।

त्यो दोस्रो दिनको आन्दोलन, जति विध्वंसात्मक भयो, मलाई विश्वास छ, तिमीहरूका कोमल हातहरूबाट त्यस्तो भएको होइन ।

तिमीहरूको निर्दोष अनुहार देखाएर, तिमीहरूको भावनामाथि खेलेर गलत राजनीति गर्ने प्रयास भइरहेको छ । देशका महत्त्वपूर्ण रेकर्ड भएका कार्यालयहरूमा आगजनी गर्ने, कारागारबाट कैदीहरू छोड्नेजस्ता गतिविधिहरू यत्तिकै भएका होइनन् ।

यी सबै पछाडि गहिरो षड्यन्त्र लुकेको छ । यो व्यवस्था, जुन हामीले अनगिन्ती दुःख र बलिदानबाट ल्याएका हौं, त्यो बेला हामी बोल्न पाउँदैन थियौं, भेला जम्मा हुने छुट थिएन, प्रश्न गर्न पाइँदैन थियो । अन्धकारमय त्यो अवस्थासँग लडेर, सङ्घर्ष गरेर हामीले यो उज्यालो व्यवस्था ल्यायौं ।

आज तिमीहरूले आफ्नो आवाज उठाउन पाएका छौ, आन्दोलन गर्न पाएका छौ भने त्यो यही व्यवस्थाको देन हो । आज यो व्यवस्थाको नै कत्लेआम गर्ने प्रयास भइरहेको छ, यसमा तिमीहरू संवेदनशील हुन जरूरी छ ।

नानीबाबुहरू, स्वभावले म अलि जिद्दी छु । यो जिद्दीपन नभएको भए शायद यति अप्ठ्याराका बीचमा यहाँसम्म आइपुग्नुभन्दा धेरै अगाडि मैले हार खाइसकेको हुन्थेँ होला ।

हाम्रो देशमा व्यापार गर्ने सामाजिक सञ्जालले यहाँको नियम मान्नुपर्छ र सूचीकरण हुनुपर्छ भनेर मैले जिद्दी नै गरेको हुँ । लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो भनेर मैले जिद्दी नै गरेको हुँ । शास्त्रहरूमा उल्लेख भए अनुसार भगवान श्रीराम भारतमा होइन, नेपालमा जन्मिएका हुन् भनेर मैले जिद्दी नै गरेको हुँ । यी जिद्दीहरूमा म पछाडि हटेको भए मैले अरू थुप्रै अवसरहरू पाउने थिएँ, थुप्रै कुरा हासिल गर्ने थिएँ । लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संयुक्त राष्ट्र संघमा नपठाएको भए या अरूले मलाई चलाउन चाहे अनुसार चलिदिएको भए मेरो जीवन अर्कै मोडमा पुग्ने थियो ।

तर मैले त आफूसँग भएको सबै सम्पत्ति राज्यका नाममा गरिदिएको छु ।

मेरो लागि पद, प्रतिष्ठा कहिल्यै महत्त्वपूर्ण रहेन । पदमा रहने या नरहने भन्ने कुरा मेरा लागि कहिल्यै ठूलो भएन ।

मेरो लागि सबैभन्दा महत्त्वपूर्ण त यो व्यवस्था जोगाउनु हो । यो व्यवस्था, जसले तिमीहरूलाई बोल्ने, हिँड्ने, प्रश्न गर्ने अधिकार दिएको छ, यसलाई बचाउनु नै मेरो जीवनको मूल उद्देश्य हो । व्यवस्थाको विषयमा कुनै सम्झौता हुँदैन भन्ने मैले विश्वास राखेको छु ।

तिमीहरूको केपी शर्मा ओली, शिवपुरी

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments