विराटचोकः सुन्दरहरैंचा–९ का मौरीपालक किसान राम उप्रेतीले मौरी चराउन राखेको स्थानबाट मौरीका ५ वटा घार चोरी भएका छन् । घटना भदौ ११ गते रातिको हो ।
कृषक उप्रेतीका अनुसार चरनमा राखिएका ४५ वटा घारमध्ये धेरै मौरी भएका ५ वटा घार चोरी भएका हुन् । भदौ १२ गते बिहान मौरी हेर्न आउँदा घार चोरी भएको थाहा भएको र प्रहरी कार्यालयमा समेत मौरी चोरीको उजुरी दिइएको उहाँले बताउनुभयो । मौरीपालक संघलाई पनि यसबारेमा जानकारी दिइएको उहाँ बताउनुहुन्छ । आफ्ना ३० घारसहित अन्य २ जना किसानका थप १५ घार मौरी त्यहाँ चरनमा राखिएका थिए ।
वैदेशिक रोजगारीबाट फर्किएर अन्य पेशा गर्दागर्दै तीन वर्षअघिदेखि मौरीपालनमा रहेका उहाँले शुरुमा तीन घार मौरी पाल्नुभएको थियो । पछि घार थप्दै लानुभएको थियो । हालसम्म ३ लाख रुपैयाँभन्दा बढी लगानी भएको उहाँले जानकारी दिनुभयो । मौरीपालनमा चरन तथा प्राकृतिक विपत्ति र अरिङ्गाललगायतका शत्रुजीवबाट जोगाउन चुनौतीपूर्ण रहेको उहाँले जानकारी दिनुभयो ।







