लेटाङः १६२ मतसहित नेकपा एमाले लेटाङ नगर कमिटीको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा खगेन्द्रराज भण्डारी विजयी हुनुभएको छ । प्रतिस्पर्धी नन्दलाल धिमाललाई १ सय २ मतले पराजित गर्दै भण्डारी अध्यक्षमा निर्वाचित हुनुभएको हो । भण्डारीले १ सय ६२ मत पाउँदा अर्का धिमालले ६० मत पाउनुभएको छ ।
अन्तिम मतपरिणामअनुसार अध्यक्षसहित ५ जना पदाधिकारी नै भण्डारी पक्षका विजयी हुनुभएको छ । उपाध्यक्षमा १ सय ६४ मतसहित भण्डारी प्यानलका विष्णुकुमार मगर विजयी हुँदा भिमाल प्यानलका यामनाथ सुवेदीले ३९ मत पाउनुभयो । स्वतन्त्र उम्मेदवारी दिनुभएका सोमनाथ निरौलाले १४ मत पाउनुभयो ।
सचिव पदमा उर्गेन तामाङ १ सय ६४ मतसहित विजयी हुँदा प्रतिष्पर्धी जीतबहादुर लामाले ५२ मत पाउनुभयो ।
उपसचिव खुलामा नगेन्द्रराज पराजुली १ सय ५५ मतसहित विजयी हुँदा टेकनाथ निरौलाले ५६ मत पाउनुभयो ।
उपसचिव महिलामा १ सय ५४ मतसहित चीजमाया लिम्बू विजयी हुँदा पुनम मस्की मगरले ६४ मत पाउनुभयो ।
नगर कमिटी सदस्यहरू भने सर्वसम्मत चयन गरिएको छ । अधिवेशनबाट पदाधिकारीसहित ६१ जना निर्वाचित भएका छन् । ७५ सदस्यीय नगर कमिटीका बाँकी १४ सदस्य नवनिर्वाचित कमिटीले चयन गर्ने जनाइएको छ । लेखा समिति पनि गठन गर्न बाँकी रहेको छ ।
मोरङका अन्य पालिकामा भने यसअघि नै अधिवेशन भएर नयाँ नेतृत्व चयन भइसकेको छ ।







