विराटचोकः कृत्रिम बुद्धिमत्ता अर्थात् आर्टिफिशियल इन्टेलिजेन्स (एआई)को प्रयोग विश्वव्यापी रूपमा तीव्र गतिमा बढिरहेको छ । तर, खानेपानीको बढ्दो सङ्कटलाई लिएर सँगसँगै चिन्ता पनि थपिदिएको छ । संयुक्त राष्ट्र संघका अनुसार विश्वको करिब ७ अर्ब जनसङ्ख्यामध्ये अहिले करिब आधा जनसङ्ख्याले खानेपानीको अभाव झेलिरहेको छ ।
जलवायु परिवर्तनलगायतका कारणहरूले त्यो समस्या अझै चर्कने अनुमान भइरहेको बेला एआईको बढ्दो प्रयोगले स्थिति विकराल हुने चेतावनी विज्ञहरूले दिएका छन् । ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानका अनुसार च्याट जीपीटीले एउटा प्रश्नको जवाफ दिन १५ चम्चा पानी खर्च गर्छ ।
एआईले दिने जवाफमा कति पानी खर्च हुन्छ भन्ने लाग्न सक्छ । जवाफ कति लामो छ र कहाँबाट खोजेर तयार गरिन्छ अनि कसरी हिसाब गरिन्छ भन्नेमा पानी खर्च निर्भर रहने अमेरिकी अनुसन्धानकर्ताहरूको निष्कर्ष छ । ओपन एआईका अनुसार च्याट जीपीटीले हरेक दिन एक अर्ब प्रश्नहरूको जवाफ दिन्छ । यस्ता एआई च्याट बोटहरूहरू अहिले दर्जनौं छन् । च्याट जीपीटीको मात्रै कुरा गर्ने हो भने दैनिक एक अर्ब प्रश्नको जवाफ दिन उसले दैनिक १५ अर्ब चम्चा पानी खर्च गर्छ ।
अमेरिकी अध्ययनका अनुसार सन् २०२७ सम्म एआई उद्योगले खर्च गर्ने पानी प्रत्येक वर्ष चारदेखि छ गुणाले बढ्दै जान्छ । त्यो पानी वार्षिक रूपमा डेनमार्कलगायतका देशहरूले प्रयोग गर्ने भन्दा बढी हो ।
‘हामीले जति धेरै एआई प्रयोग गर्छौँ उति धेरै पानी खपत गर्छौं,’ अध्ययनका लेकहरूमध्येका एक क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक शाओले रेन भन्छन् ।
निबन्ध लेख्नेदेखि डीप फेक बनाउनेजस्ता अनलाइन गतिविधिका लागि डेटा सेन्टरमा कम्प्युटर सर्भरका ठूला दराजहरू राखिएका हुन्छन् । कतिपय यस्ता दराजहरू अर्थात् डेटा सेन्टरहरू कैयौँ फुटबल मैदान भन्दा ठूला छन् । कम्प्युटरहरूबाट निरन्तर विद्युत् बहने हुँदा यी सर्भरहरू तात्छन् । त्यसलाई तात्न नदिन वा तातिसकेको अवस्थामा चिस्याउन सफा पानीको प्रयोग गरिन्छ ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)का अनुसार च्याट जीपीटीले एउटा प्रश्नको जवाफ दिन गुगल सर्चले एउटा खोजी गर्न भन्दा १० गुणा बढी बिजुली खपत गर्छ । धेरै बिजुली खपत हुँदा ताप पनि ज्यादा हुन्छ अनि चिस्याउने प्रणाली पनि बढी चाहिन्छ । त्यसरी पानीको खपत स्वतः बढ्छ ।
स्पेनको एउटा पर्यावरणसम्बन्धी समूह ‘योर क्लाउड इज ड्राइङ अप माई रिभर’ले डेटा सेन्टर विस्तारविरूद्ध सङ्घर्ष समिति नै गठन गरेर आन्दोलन शुरु गरेको छ ।
चरम सुख्खाको समस्या भोगिरहेका चिली र उरुग्वेमा पनि विरोध प्रदर्शन शुरु भएको छ, फलस्वरुप विरोध प्रदर्शन पछि गुगलले आफ्नो डेटा सेन्टर नै सार्ने योजना बनाएको छ ।
संयुक्त राज्य अमेरिकाका एरिजोनालगायतका कैयौं राज्यहरूमा पनि एआईको विरुद्ध प्रदर्शनहरू शुरु भइरहेका छन् । – एजेन्सी







