विराटचोकः नयाँ विद्यार्थी भर्ना अभियानसँगै मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको सुकुना बहुमुखी क्याम्पसले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ ।
क्याम्पस प्रशासनले सूचना जारी गर्दै प्रतियोगितामा सहभागी हुन विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई आह्वान गरेको छ । क्याम्पस प्रमुख अर्जुनराज अधिकारीको हस्ताक्षर गरेको सूचनामा प्रतियोगितामा सहभागी हुने टोली कम्तीमा ५ जनाको समूहमा हुनुपर्ने र तयार पारिएका टिकटक भिडियो क्याम्पसको भर्नासम्बन्धी सन्देशमूलक हुनुपर्ने उल्लेख छ ।
अधिकतम १ मिनेट २० सेकेण्डको मात्र हुने र त्यसमा क्याम्पसका शैक्षिक गतिविधि, पूर्वाधार, पुस्तकालय, ई–लाइब्रेरी, प्रयोगशाला, कम्प्युटर र परीक्षा हल, खेलकुद, अनुसन्धानलगायत समेटिनुपर्ने जनाइएको छ । प्रतियोगिताका भिडियोहरू फेसबुकमा समेत अपलोड गर्नुपर्ने जनाइएको छ ।
फेसबुकमा अपलोड भएका भिडियो कम्तीमा १०० पटक र टिकटकमा अपलोड भएका भिडियो कम्तीमा ५० पटक शेयर भएको हुनुपर्ने बताइएको छ ।
साउन २० गते बिहान ११ बजेअघि पोष्ट भएका भिडियोले प्रतियोगितामा सहभागी हुन नपाउने भएका छन् । भदौ १० गते बिहान ९ बजेभित्र पोस्ट गरिएका भिडियोहरूको मूल्याङ्कन गरी पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँ प्रदान गरिने क्याम्पसले जनाएको छ ।








