विराटचोकः नेपालमा आज पहिलो पटक कोदो दिवस मनाइँदैछ । विगत ७ वर्षदेखि अनौपचारिक रूपमा विभिन्न कार्यक्रमका साथ कोदो दिवस मनाइँदै आइएको थियो । यस पटक भने औपचारिक रुपमा दिवस मनाउन लागिएको हो ।
संयुक्त राष्ट्र सङ्घले सन् २०२३ लाई ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष’ कै रुपमा मनाएको थियो । नेपाल सरकारले औपचारिक घोषणा नगरे पनि नेपालमा विगत ७ वर्षदेखि नै स्वतःस्फुर्त रुपमा साउन १५ मा कोदो दिवसका रुपमा मनाउने गरिएको थियो । यसपटक सरकारले साउन १६ मा कोदो दिवस मनाउने घोषणा गरेपछि आज पहिलो पटक औपचारिक रुपमा कोदो दिवस मनाइने भएको हो ।
गत असार २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्षको साउन १६ गते कोदो दिवस मनाउने निर्णय गरेको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई कोदो दिवस मनाउन अनुरोध गरेको थियो ।
साउन ४ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिवको अध्यक्षतामा बसेको बैठकले प्रथम राष्ट्रिय कोदो दिवसका लागि ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ नारा तय गरेको थियो ।
बहुगुणी कोदोको प्रवद्र्धनमा जोड दिएर आजका दिन विभिन्न कार्यक्रम आयोजना गरिन्छ । कोदो रोप्ने मुख्य सिजन साउन भएकाले आजको दिनलाई कोदो दिवसका रूपमा मनाउने निर्णय भएको हो ।
नेपालमा धान, मकै र गहुँपछि कोदो चौथो मुख्य बालीका रूपमा रहेको छ । विगतमा कुअन्न भनिएको र गरिबको खान्कीका रूपमा लिने गरिएको कोदो पहिलेदेखि नै हेलामा परेको बाली हो । नेपालका सबैजसो जिल्लामा कोदो खेती हुन्छ ।
कोदो लामो समयसम्म भण्डारण गर्न सकिने अनाज हो । भकारी वा अन्य भाडामा १२-१५ वर्षसम्म राख्दा पनि सड्ने–गल्ने केही हुँदैन । विश्वको कुल उत्पादनको एक प्रतिशत कोदो नेपालले उत्पादन गर्छ । कोदो उत्पादनमा नेपाल विश्वको १५ औं स्थानमा पर्छ ।








