काठमाडौंः ६५ वर्ष लामो भूमिगत र अर्धभूमिगत राजनीतिलाई त्याग्दै नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह खुला राजनीतिमा आउनुभएको छ । नेकपा मसालको साउन ९ र १० गते सम्पन्न केन्द्रीय समितिको बैठकले ९० वर्षीय सिंहलाई सार्वजनिक गर्ने निर्णय गरेको हो ।
‘देशमा बढ्दो प्रतिगमन, साम्राज्यवादको असर र राष्ट्रियता–सार्वभौमिकतामाथिको खतरा देखिँदा जनतामाझ पुगेर विचार प्रवाह गनु आवश्यक रहेको निष्कर्षका आधारमा सिंहलाई सार्वजनिक गरिएको हो’, पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर पार्टीको संगठनात्मक संरचना भने यथावत भूमिगत नै रहने छ ।’
पञ्चायतकालदेखि भूमिगत रहनुभएका सिंह बहुदलीय व्यवस्थापछि अर्धभूमिगत अवस्थामा हुनुहुन्थ्यो । टेलिभिजन, रेडियो अन्तर्वार्ता वा फोटो खिच्नसमेत नदिने नीति पार्टीले लामो समयसम्म लागू गरेको थियो । पछिल्ला वर्षहरूमा त्यो नीति क्रमशः खुकुलो पारिएको थियो ।
विं. सं. २०१३ सालदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय सिंह सन् १९५७ मा केन्द्रीय सदस्य बन्नुभएको थियो ।







