विराटचोकः मङ्गलबार ४ वर्षपछि शेयर बजारले ३००० को बिन्दु पार गर्दा बजार पूँजीकरणले नयाँ रेकर्ड कायम गर्याे । विशाल बजार कम्पनीको संस्थापक शेयर साधारणमा परिणत भएपछि तथा विभिन्न कम्पनीको आईपीओ र हकप्रद तथा बोनस शेयर थपिएपछि यसअघिको उच्च बिन्दुमा पुग्न २०० अङ्क बाँकी हुँदै बजार पूँजीकरणले भने नयाँ रेकर्ड बनाएको हो ।
५० खर्ब पुगेको शेयर बजारमा १० ठूला कम्पनीले मात्रै २७ प्रतिशत हिस्सा ओगट्छन् । अर्थात् यी १० ठूला कम्पनीको बजार पूँजीकरण १३ खर्ब ७४ अर्ब रुपैयाँ हुन आउँछ ।
यी हुन् १० ठूला कम्पनी
नेपाली शेयर बजारमा पूँजीकरणका हिसाबले विशाल बजार कम्पनी सबैभन्दा ठूलो हो । विशाल बजारको पूँजीकरण २ खर्ब ३३ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ ।
विशाल बजारपछि दोस्रो ठूलो कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी छ । मंगलबार नेपाल पुनर्बीमाको पूँजीकरण रकम २ खर्ब १४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।
पूँजीकरणका हिसाबले तेस्रो स्थानमा रहेको नेपाल टेलिकमको १ खर्ब ६७ अर्ब २९ करोड रुपैयाँ पूँजीकरण छ ।
चौथो ठूलो कम्पनी नबिल बैंकको पूँजीकरण रकम १ खर्ब ४८ अर्ब ४२ करोड रुपैयाँ छ ।
नागरिक लगानी कोषको १ खर्ब ३६ अर्ब १२ करोड रुपैयाँ पूँजीकरण पुगेको छ ।
त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको पूँजीकरण १ खर्ब १५ अर्ब, ग्लोबल आईएमई बैंकको १ खर्ब ३ अर्ब, एभरेष्ट बैंकको ९५ अर्ब ३३ करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ८२ अर्ब ८० करोड तथा हाइड्रो इलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको पूँजीकरण ७६ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।
बजार पूँजीकरण धेरै भएका कम्पनीको शेयरमूल्य तलमाथि हुँदा नेप्से परिसूचक नै तलमाथि हुन पुग्छ ।







