विराटचोकः आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारमा रहेका श्रमिकका लागि झापा इनर्जीले आजदेखि आईपीओ बिक्रीमा ल्याएको छ ।
जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरिएको हो । सो शेयरमध्ये १ लाख ९० हजार ९५ कित्ता शेयर प्रत्यक्ष प्रभावित क्षेत्र झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा सौर्य विद्युत आयोजना निर्माण र सञ्चालन भइरहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटर वरपरको क्षेत्रका बासिन्दाहरूका लागि बाँडफाँड गरिनेछ । बाँकी १ लाख ९० हजार ९५ कित्ता शेयर सो क्षेत्र बाहेकका झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ का बासिन्दाहरुमा बाँडफाँड गरिनेछ ।
सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ५७ लाख २ हजार ९०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ५७ हजार २९ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिने भएको हो । सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन २८ गते हुनेछ भने ढिलोमा भदौ १२ गते हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा साउन १८ गते हुनेछ भने ढिलोमा साउन २८ गते हुनेछ ।
कम्पनीले सञ्चालन गरेको १० मेगावाटको ग्रीडमा आबद्ध सौर्य विद्युत आयोजनाको कुल अनुमानित लागत ८७ करोड ९० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत ८ करोड ७९ लाख रुपैयाँ रहेको छ । सो आयोजनाको विद्युत अनुमतिपत्र २२ वर्ष बाँकी रहेको छ । यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि इक्विटीको ९ दशमलव ५५ वर्ष र प्रोजेक्टको ८ दशमलव ०६ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि इक्विटीको १३ दशमलव ४६ वर्ष र प्रोजेक्टको १५ दशमलव ६६ वर्ष रहेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले हिमालयन बैंकको दुधे, दमक तथा सुरुङ्गाका शाखा कार्यालय तथा आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन् ।
सौर्य ऊर्जा कम्पनीको आइपीओ पहिलो पटक खुल्न लागेको हो ।







