गछियाः सुन्दरहरैंचाको कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यको मृत्युपछि शेयर सदस्यका परिवारलाई राहतबापत १ लाख १० हजार रुपैयाँ नगद प्रदान गरेको छ ।
सुन्दरहरैंचा–५ खोक्सी निवासी सुनिता चौधरीको अर्बुद रोगका कारण निधन भएपछि उहाँको परिवारलाई राहत रकम प्रदान गरिएको हो ।
सहकारीको समूह नम्बर २१ की सदस्य मृतक चौधरीले लघुवित्त कार्यक्रमअन्तर्गत लिएको १ लाख रुपैयाँ ऋणमध्ये ८१ हजार रुपैयाँ ऋण तिर्न बाँकी रहेको थियो । सो ऋण र ऋणको ब्याजबापतको २ हजार रुपैयाँ कट्टा गरेर बाँकी रकम परिवारलाई प्रदान गरिएको हो ।
राहत रकम प्रदान गर्न मृतक चौधरीको निवासमा सहकारीको सञ्चालक समिति सचिव अर्जुनकुमार तिम्सिना, कोषाध्यक्ष हिरण्य कालाखेती, सुन्दरपुर सेवा केन्द्र व्यवस्थापन उपसमिति संयोजक पोष्टकुमार श्रेष्ठ, सदस्य मेघराज पौडेल, सहकारीका व्यवस्थापक गोपाल देउजा, सेवा केन्द्र प्रमुख गीताकुमारी घिमिरे तथा लघुवित्त फिल्ड सहायक प्रमिला आचार्य पुग्नुभएको थियो ।







