विराटचोकः सुन्दरहरैंचाको विराटचोकमा नयाँ व्यवसाय स्केटिङ पार्क सञ्चालनमा आएको छ । व्यवसायी ध्रुवप्रसाद पोखरेलले सञ्चालनमा ल्याउनुभएको सो पार्कको सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले शनिबार उद्घाटन गर्नुभएको छ ।
बालबालिका तथा युवामा स्केटिङप्रतिको मोह देखेर आफूले स्केटिङ पार्क सञ्चालनमा ल्याएको सञ्चालक पोखरेलले जानकारी दिनुभयो । सो पार्कमा स्केटिङ गर्न आउने स्केटिङप्रेमीका लागि केही समय उपहारको पनि व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
स्केटिङ पार्क उद्घाटन गर्दै प्रमुख अतिथि कार्कीले विराटचोकमा नयाँनयाँ व्यवसाय शुरु हुनुले नगरको विकासमा थप टेवा पुग्ने बताउनुभयो । नयाँ व्यवसायमा लगानी भित्रिनुले सुन्दरहरैंचामा व्यवसाय गर्ने वातावरण रहेको पुष्टि हुने उहाँको भनाइ थियो । नयाँ व्यवसायीलाई आकर्षित गर्न स्थानीय तहले ठोस कदम चालेमा व्यवसायीमैत्री पालिका निर्माण भई व्यवसायीले ढुक्कले लगानी गर्न सक्ने वातावरण बन्ने उहाँले बताउनुभयो ।
सुन्दरहरैंचा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद रिजालले स्केटिङ सिक्न चाहने तथा स्केटिङ पारखीका लागि स्केटिङ पार्क उपयुक्त गन्तव्य हुने बताउनुभयो । बालबालिकालाई यस्ता साहसिक खेलमा आकर्षित गर्न स्केटिङ पार्क सफल हुने उहाँको धारणा थियो ।
त्यस्तै सुन्दरहरैंचा उद्योग वाणिज्य संघका लेखा संयोजक रुद्र थापाले बालबालिकालाई मोबाइलको लतबाट छुटाउन यो खेलको विकास गर्न आवश्यक रहेको बताउनुभयो । विद्यालयले स्केटिङ खेलको विकासमा ध्यान दिई अघि बढेमा मनोरञ्जन र स्वास्थ्यका साथै मोबाइलको लतबाट बालबालिकालाई छुट्कारा दिन पनि सहज हुने उहाँको भनाइ थियो ।
उद्घाटन कार्यक्रममा उद्योगी, व्यवसायी, खेलप्रेमी तथा सञ्चारकर्मीको उपस्थिति थियो ।







