गोठगाउँः पहिलो पाइला नेपाल सुन्दरहरैंचाको अध्यक्षमा विजय ओझा सर्वसम्मत चयन हुनुभएको छ । यसअघि उहाँ कार्यसमितिको सचिव पदमा कार्यरत हुनुहुन्थ्यो ।
शनिबार सुन्दरहरैंचाको गोठगाउँमा भएको संस्थाको छैटौँ साधारणसभामा नवनिर्वाचित सम्पूर्ण पदाधिकारीको पदस्थापन गरिएको हो ।
११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा समीक्षा कार्की, सचिवमा केवल लुइँटेल, सहसचिवमा मनोज अधिकारी, कोषाध्यक्षमा विनोद अधिकारी र सह कोषाध्यक्षमा सुप्रिया सिराल चयन हुनुभएको छ ।
सदस्यहरुमा सुनिल ढुङ्गाना, किरण सापकोटा, रमेश बस्नेत, निर्मला खड्का र होमबहादुर गौतम चयन हुनुभएको छ । नवनिर्वाचित समितिलाई कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंंचा नगरपालिकाका पूर्व नगरप्रमुख शिवप्रसाद ढकाललगायतले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । निर्वाचन समिति संयोजक सन्ध्या लामिछानेले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो ।
साधारणसभामा पञ्चायत मावि सुन्दरहरैंचाका तेक्वान्दो खेलाडीलाई खेल सामग्री प्रदान गरिएको थियो । गत आर्थिक वर्षमा सस्थाले गरेका विभिन्न सामाजिक कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने व्यक्तिलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।







