विराटनगरः साउन १ गते शुरु भएको फौजदारी कानुनका विविध विषयको आधारभूत तालिम विराटनगरमा बुधबार सम्पन्न भएको छ ।
नेपाल बार एशोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रले तालिमको उद्घाटन गर्नुभएको थियो । तालिममा फौजदारी कानुनसम्बन्धी आधारभूत जानकारी दिइएको थियो ।
तालिमको समापन कार्यक्रम कानुन व्यवसायी परिषदका अध्यक्ष तथा महान्यायाधिवक्ता केशव बडालको प्रमुख आतिथ्यतामा भएको थियो । कानुन व्यवसाय परिषद कोशी प्रदेशका पार्षद राजु ढकालको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई, कोशी प्रदेशका मुख्य न्यायाधिवत्ता तथा वरिष्ठ अधिवक्ता नारायण वस्ती, मोरङ बार एशोसिएसन अध्यक्ष हरिशंकर मण्डल, झापा बार एशोसिएसनका अध्यक्ष वसन्त नेपाललगायत पूर्व पार्षदको उपस्थिति रहेको थियो ।
फौजदारी न्याय प्रणालीलाई थप व्यवस्थित, वैज्ञानिक, आधुनिक र पीडितमैत्री बनाउन फौजदारी संहितामा संशोधनको आबश्यकता रहेको प्रमुख अतिथि बडालले बताउनुभयो । उहाँले नवप्रवेशी कानुन व्यवसायीहरूको क्षमता विकास गराउन यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
सहभागीहरूको तर्फबाट मन्तव्य राख्दै झापा बार एशोसिएसनकी सहसचिव तथा झापा बार महिला समिति अध्यक्ष अधिवक्ता सानु कार्की बस्नेत ‘सीता’ले यस्ता तालिमबाट फौजदारी कानुनका विविध विषयमा सहभागीहरूलाई महत्वपूर्ण शिक्षा, ज्ञान र क्षमता प्राप्त भएको धारणा राख्नुभएको थियो ।
कानुन ब्यबसायी परिषद्अन्तर्गत लयर्स एकेडमी समितिको आयोजना र कानुन ब्यबसायी परिषद कोशी प्रदेश सम्पर्क कार्यालय विराटनगरको सह आयोजनामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा फौजदारी कानुनका विज्ञ प्रशिक्षक उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरू, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले प्रशिक्षण दिनुभएको थियो । तालिममा मोरङ, सुनसरी, झापालगायतका जिल्लाका ४५ जना भन्दा बढी नवप्रवेशी कानुन व्यवसायीहरूको सहभागिता रहेको थियो ।







