चिरञ्जीवी सिवाकोटी
समाचार लेख्ने व्यक्ति पत्रकार हो र उसको व्यवसाय चाहिँ पत्रकारिता हो । पत्रकारलाई राज्यले चौथो अङ्गको रूपमा स्थान दिएको छ । त्यसैले पत्रकारहरू देशमा सम्मानका पात्र हुन्छन् । पत्रकारले शासकको, राजनीतिक दलको, नेतृत्वको, जनताको, अर्थ व्यवस्था र भूगोलको बारेमा सामान्य जानकारी प्राप्त गरेको हुनुपर्छ\ राख्नुपर्छ ।
तानाशाही सरकारले आफ्नो कामको धेरै प्रचार गर्न सञ्चार माध्यमको बढी प्रयोग गरेको पाइन्छ । तर प्रजातान्त्रिक व्यवस्था भएको देशमा पत्रकारिताले प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्नुपर्छ । जनताको समस्याको बारेमा आवाज उठाउनु नै पत्रकारको धर्म हो । पत्रिकामा प्रकाशित सम्पादकीय, समाचार, लेख रचना पढेर शासकले पनि र जनताले पनि देशको सम्पूर्ण गतिविधिको जानकारी जस्ताको तस्तै थाहा पाउने; देशको कुनाकुनामा देख्ने भएकाले पत्रकारितालाई तेस्रो आँखासमेत भनिन्छ ।
आफ्नो कार्यक्षेत्रभित्र भएका कुनै पनि कार्यक्रम, घटना वा दुर्घटनालाई बुझिने गरी छोटकरीमा सरल भाषामा जस्ताको त्यस्तै लेख्नु समाचार हो । कुनै पनि वित्तीय संस्थाको आर्थिक गतिविधि अध्ययन गरेर र अनुमान गरेर लेखिएको विश्लेषणात्मक समाचारले जनतालाई देशको आर्थिक अवस्थाको बारेमा जानकारी प्राप्त हुन्छ र बंैक तथा वित्तीय संस्थाहरूमा कारोबार गर्न सजग गराउँछ ।
इतिहासको मूल्याङ्कन र भविष्यको गतिविधिसमेत अनुमान गरेर अगाडि नै विश्लेषण गर्ने क्षमता समेत पत्रकारमा हुन्छ ।
स्वास्थ्य, खेलकुद, सूचना र सन्देशमूलक लेख रचना निबन्ध कथा कविता पनि पत्रकारिताको विधाअन्तर्गत पर्दछन् । यस्ता किसिमका लेखहरूले जनतालाई मनोरञ्जन दिने वा सुसूचित गर्ने गर्दछन् ।
समाचार वा लेखहरूको मुख्य उद्देश्य चाहिँ जानकारी दिनु नै हो । सूचनामूलक, ज्ञानबद्र्धक, मनोरञ्जनात्मक, विश्लेषणात्मक अन्वेषणात्मक लेखहरूका आआफ्नै स्वेच्छिक पाठकहरू रहेका हुन्छन् ।
आपराधिक गतिविधि, भ्रष्टाचार, बेथितिजन्य क्रियाकलापको अनुसन्धानमा प्रहरीलाई सहयोग गर्ने कामसमेत खोज पत्रकारको कर्तव्य हुन आउँछ । धेरै घटनाहरूको अनुसन्धानलाई यस्तै खोज समाचारले धेरै सहयोग गरेको पाइन्छ ।
प्रजातान्त्रिक प्रणालीमा सरकार वा सरकारी निकायका कार्यालयले आफ्नो कार्यालयको बारेमा जानकारी गराउन राजपत्र प्रकाशित गर्ने गर्दछन् भने कनैकुनै कार्यालयले मुखपत्र पनि प्रकाशित गर्ने गर्दछन् ।
हिजोआज सरकारका, प्रत्येक राजनीतिक दलका अनि नेताहरूका अलगअलग समाचार संस्था खुलेका छन् । स्वतन्त्र पत्रकारिता भनिए पनि फाट्टफुट्ट बाहेक कुनै पत्रकार र समाचार संस्था पैसामा बिक्री हुने तथा दासताबाट मुक्त रहन सकेका छैनन् । पैसा लिएर समाचार लेख्ने पत्रकार, धम्की दिएर बार्गेनिङ गर्ने पत्रकार रहुञ्जेल सुशासनको कल्पना नगरे पनि हुन्छ ।
पत्रकारको आम्दानीको स्रोत विज्ञापन हो । राम्रो र लोकप्रिय समाचार संस्थालाई व्यवसायीले खोजीखोजी विज्ञापन दिन्छन् । तर नेपालमा खोजीखोजी विज्ञापन दिने खालका समाचार संस्था नगण्य छन् ।
यसरी सरकारको अलग्गै, पार्टीको अलग्गै, व्यक्तिको अलग्गै समाचार संस्था चलाउनु तथा बिकाउ पत्रकारको बिगबिगीले देशमा अराजकता, भ्रष्टाचारको ढाकछोप, अनुसन्धानमा अवरोध मात्र गरेको छैन; अपराधीलाई देवत्वकरण गरेर सर्वसाधारण जनतालाई माछालाई झैँ बल्छीमा उन्न समाचार संस्थाले बल्छीको चारोको काम गरेको छ । यसले पत्रकारिता सर्वसाधारणलाई महङ्गो र हाउगुजीसमेत भएको छ ।
राज्यका चार अङ्गहरूमा सबैभन्दा शक्तिशाली पत्रकारिता नै हो । (कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका) लाई सचेत बनाउन सक्ने शक्ति पत्रकारितामा हुन्छ । समाज, देश बनाउन सबैभन्दा पहिले पत्रकारको विचारमा परिवर्तन हुनु आवश्यक छ । सत्यतथ्य समाचार आउन थालेपछि, समाचारका कारण अनुसन्धानमा सहयोग हुन थालेपछि धेरै अपराधी जेल जानेछन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सुधारिन थाल्नेछन् । यति भएपछि प्रहरी प्रशासन, अख्तियार, कर्मचारी, संघसंस्था सबै सरकार र न्यायपालिका एकअर्काबाट नियन्त्रित हुनेछन् । देशमा सुशासन कायम हुने सम्भावना बढ्नेछ ।
(लेखक स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाका संयोजक हुनुहुन्छ ।)







