लेटाङः समुदाय तथा विद्यालयमा किशोरीमाथि हुने दुर्व्यवहार न्यूनीकरण गर्न तथा उनीहरुका समस्या सुन्न लेटाङ नगरपालिकाले छात्रासँग उपमेयर कार्यक्रमको आयोजना गरी अन्तरक्रिया गरेको छ ।
नगर क्षेत्रका माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा सहभागी भएको कार्यक्रममा नगर क्षेत्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयबाट प्रतिनिधिमूलक रुपमा सहभागी भएका छात्राले विभिन्न जिज्ञासा राखेका थिए । कार्यक्रममा नगर प्रमुख भुपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदी, शिक्षा शाखा प्रमुख कृष्णराज राई, लेटाङ नगरपालिकाका कानुनी सल्लाहकार गणेशराज लुइँटेल र इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक राकेश रेग्मीले छात्राहरुले सोधेका विभिन्न जिज्ञासाको जवाफ दिनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भूपेन्द्रकुमार लावतीले छात्राहरुले उठाएका विषयलाई आगामी दिनमा नगरपालिकाले सम्बोधन गर्दै जाने बताउनुभयो । उहाँले कार्यक्रममा छात्राहरुले राखेका समस्या थाहा पाएपछि नगरपालिकालाई सोही अनुसार कार्यक्रम बनाउन सहज भएको पनि उल्लेख गर्नुभयो । नगर प्रमुख लावतीले लेटाङमा लागुऔषध दुव्र्यसनको समस्या रहेको भए पनि जिल्लाका अन्य पालिकाको तुलनामा निकै कम रहेकाले भयावह अवस्था भने नरहेको बताउनुभयो ।
नगर उपप्रमुख कृष्णकुमारी निरौलाले छात्राहरुले आफ्ना समस्या उठान गरेर नगरपालिकालाई बाटो देखाउने काम गरेको बतउनुभयो । उहाँले विगत ३ वर्षदेखि छात्रासँग उपप्रमुख कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराउँदै छात्राहरुको समस्या समाधान गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
लेटाङ नगरपालिकाका कानुनी सल्लाहकार गणेशराज लुइँटेलले साइबर अपराध, यौन दुव्र्यवहार, लैंगिक हिंसा तथा विभेद, लागुऔषध दुव्र्यसन र बालविवाहका विषयमा छात्राहरुलाई जानकारी गराउनुभएको थियो ।
अन्तरक्रियामा सहभागी धेरै जना छात्राहरुले लागूऔषध दुव्र्यसनका विषयमा बढी जिज्ञासा राखेका थिए । बालविवाह रोकथाम हुन नसकेको, नगरपालिकाबाट दिइने सेनीटरी प्याड कम गुणस्तरको भएको, विद्यालय क्षेत्रमा चुरोट तथा गुट्खा बिक्री हुने गरेको, पहाडी क्षेत्रका विद्यालय जाँदा घण्टौँ हिँड्न बाध्य हुनुपरेको, सफा शौचालय तथा शुद्ध खानेपानी नभएको, बालबालिका हराउने घटना बढेको लगायतका विषयमा सहभागी ८० जना छात्राले प्रश्न राखेका थिए ।







