विराटचोकः बुधबारदेखि सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैंचा, मोरङमा फ्याकल्टी प्रोफेसनल डेभलपमेन्ट ट्रेनिङ कार्यक्रम शुरु भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग तथा क्याम्पसको आयोजनामा शुरु भएको तलिम ६ दिन सञ्चालन हुनेछ ।
तालिममा विश्वविद्यालय अनुदान आयोगबाट मान्यता प्राप्त कोशी प्रदेशका १६ वटा क्याम्पसका ३० जना प्राध्यापकहरू सहभागी हुनुहुन्छ । तालिमले शिक्षण दक्षता अभिवृद्धि गर्दै प्राध्यापकहरूको पेशागत विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।
तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणालीमा व्यापक सुधार आवश्यक रहेको बताउँदै तीन घण्टे परीक्षाको ढाँचामै परिवर्तन गर्नुपर्ने बताउनुभयो । परीक्षा प्रणालीमा देखिएका अनियमितता तथा चोरीका घटनालाई अन्त्य गर्न गम्भीर पहल आवश्यक रहेको उहाँको भनाइ थियो ।
उद्घाटन समारोहलााई सम्बोधन गर्नुहुँदै सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले प्रविधिमैत्री शिक्षा प्रणाली अवलम्बन गरी विपन्न तथा ग्रामीण भेगका विद्यार्थीलाई नेपालमै अध्ययन गर्न उत्प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका प्राविधिक सल्लाहकार ह्रदयरत्न बज्राचार्यले उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउनुपर्ने बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयका क्षेत्रीय परीक्षा सह–नियन्त्रक गोविन्द गुरागाईंले परीक्षा प्रणाली मर्यादित र व्यवस्थित बनाउनुपर्ने बताउँदै क्याम्पसहरूमा परीक्षार्थी निस्कासनको अवस्था आउनु दुःखद भएको बताउनुभयो ।
क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले शिक्षण पद्धतिमा गुणात्मक सुधार ल्याउन तालिमको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रम क्याम्पस सञ्चालक समिति अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । क्याम्पस सञ्चालक समिति उपाध्यक्ष ललित श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको तालिम कार्यक्रमको उद्घाटन सत्रको सञ्चालन अतिरिक्त क्रियाकलाप समिति संयोजक चन्द्रमणि राईले गर्नुभएको थियो ।
देशभर ७ वटा क्याम्पसमा यस्ता प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको बताइएको छ । सुकुनामा आयोजित तालिममा १० जना विषय विशेषज्ञ प्रशिक्षकले सहजीकरण गर्ने आयोजकले जनाएको छ ।







