Friday, December 5, 2025
Homeपर्यटनश्रीअन्तुको विकल्पमा रहेको जेफाले

श्रीअन्तुको विकल्पमा रहेको जेफाले

खेमचन्द्र अधिकारी

तस्बिरः कृष्णचन्द्र सुवेदी र खेमचन्द्र अधिकारी

विराटचोकः मोरङ भन्नासाथ तराईको जिल्ला भन्ने बुझिन्छ । तर उत्तरी मोरङमा केही यस्ता ठाउँ पनि छन् जुन विकट पहाडी क्षेत्र जत्तिकै अप्ठ्यारा छन् । त्यस्तै अप्ठ्यारा बाटा छिचोल्दै गएपछि पुगिन्छ पर्यटकीय क्षेत्र जेफाले ।

मोरङको सबैभन्दा ठूलो गाउँपालिका केराबारीको क्षेत्रफल २ सय १९ दशमलव ८३ वर्ग किमी क्षेत्रफलमा रहेको छ । १० वटा वडा मध्ये ५ वटा पहाडी क्षेत्रमा पर्ने हुनाले अन्य वडाको तुलनामा ती वडामा बढी मात्रामा पर्यटकीय क्षेत्र रहेका छन् । तीमध्ये मुख्य पर्यटकीय क्षेत्र हो जेफाले ।

यहाँसम्म पुग्ने २ वटा बाटा रहेका छन् । एउटा बाटो मोरङको सुन्दरहरंैंचाको खोर्साने हुँदै केराबारी बजारबाट जान्छ । यो बाटो अप्ठ्यारो छ । पहाडी क्षेत्रमा साहसिक यात्रा गर्नेका लागि भने रोमाञ्चक छ । अर्काे बाटो कोशी राजमार्गबाट धरान– भेडेटार, डाँडाबजार, राजारानी, हुँदै जेफाले पुगिन्छ ।

बिहीबारे बजारबाट ९४६ पक्की सिँढी चढेर जेफाले भ्यु टावर पुगिन्छ । केराबारी गाउँपालिका वडा नम्बर २ अर्थात् साविक सिंहदेवी गाविसको वडा नं. ५ को बिहीबारे बजार आजकाल जेफाले नामले चर्चित छ । हाबेचौरी पनि भनिने बिहीबारे बजारभन्दा केही माथि जेफाले भ्यु–टावर रहेको छ ।

धनकुटा र मोरङको सिमानामा रहेको बाह्रैमास शीतल हुने यस ठाउँमा हाल पर्यटकहरूको स्वागतका लागि होमस्टेको सञ्चालन गरिएको छ । तीन तले सो भ्युटावरबाट सूर्योदयको दृश्य देख्न सकिन्छ । यहाँ स्थानीय मगर समुदायको सांस्कृतिक हुर्रा नाच पनि हेर्न पाइन्छ । नजिकै पाथीभरा देवीको मन्दिर रहेको छ । मोरङको पहिलो चिया बगान पनि यहीँ रहेको छ ।

जेफालेमा २० वर्ष अघि २०६३ बाट पर्यटकीय गतिविधि शुरु भएको हो । २०६९ सालदेखि यहाँ होम स्टे शुरु गरियो । बाह्रै महिनाजसो शान्त वातावरण र चिसो मौसम हुने भएकाले जेफालेको आकर्षण बढेको छ । जेफालेका होम स्टेले आन्तरिक उत्पादनलाई प्राथमिकता दिएका छन् । लिम्बू र मगर जातिको बाहुल्य रहेको यो ठाउँमा स्थानीयले पर्यटकलाई मगर जातिको हुर्रा र लिम्बूको धान नाच देखाउने गर्छन् ।

जेफाले डाँडाको भ्यूटावरबाट सूर्याेदय र सूर्यास्त हेर्नेको भीड लाग्छ । २०७२ सालमा यो टावरको उद्घाटन भएको थियो । अग्लो डाँडामा रहेको ४५ फिट अग्लो चारतले भ्यूटावर निर्माणपछि यहाँ पर्यटकको आकर्षण थप बढेको हो । इलामको श्रीअन्तुमा उदाउँदो सूर्याेदय हेर्नेको भीड लाग्छ । जेफाले श्रीअन्तुको विकल्प भएको छ । जेफालेमा पर्यटन सूचना केन्द्र खोलिएको छ ।

आसपासका अन्य पर्यटकीय क्षेत्र
जेफाले आसपासमा केराबारी गाउँपालिकामा अन्य पर्यटकीय स्थल रहेका छन् । ती स्थल हुन्ः तोपथुम्की डाँडा, ध्वजेडाँडा, सिद्धथुम्की डाँडा, सातकन्या गुफा, झाँक्री गुफा, शिव पार्वती गुफा, तामा झरना आदि ।

कोशी पर्यटन वर्ष २०८२ मा आन्तरिक तथा बाह्य पर्यटकलाई जेफालेसम्म लान सके प्रदेश सरकारले बनाएको १० लाख पर्यटक भित्र्याउने योजना सफल बनाउन जेफालेले पनि सहयोग गर्ने कुरामा दुई मत छैन ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments