खेमचन्द्र अधिकारी
बेलबारीः पर्यटकीय सम्भावनायुक्त क्षेत्र पहाडी भूभागमा प्रशस्त पाइन्छ । तराई क्षेत्रमा पर्यटक तान्ने त्यत्ति धेरै स्थान नभए पनि चारकोशे झाडी आसपास पर्यटकीय सम्भावना बोकेका केही स्थान पाइन्छन् । त्यस्तैमध्येको एक हो मोरङको बेलबारीमा रहेको बेतना सिमसार क्षेत्र । सो क्षेत्र कोशी पर्यटन वर्ष २०८२ को लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ ।
बेलबारी नगरपालिका सिमसारै सिमसार भएको नगरपालिकाको रुपमा पनि चिनिन्छ । नगरपालिकाले आफूलाई जङ्गलभित्रको नगर र सिमसारको नगरको रुपमा चिनाउन पनि चाहेको छ । नगरभित्र अमना सिमसार, सिसौली सिमसार, वासुकी पोखरी (सुन्दरहरैंचा र बेलबारी दुवै पालिकामा पर्ने) लगायतका सिमसार क्षेत्र रहेका छन् ।
बेतना मुख्य पर्यटकीय क्षेत्र
बेलबारीको मुख्य पर्यटकीय क्षेत्र बेतना सिमसार हो । बेलबारी बजार सकिएको लगभग ५०० मिटरमै यो सिमसार क्षेत्र पर्दछ । पूर्वपश्चिम लोकमार्गमा नै टाँसिएर रहेको हुनाले यहाँ सहजै पुग्न सकिन्छ । पहिले बेतको वन रहेको हुनाले त्यसैको आधारमा यसको नाम बेतना राखिएको स्थानीय बताउँछन् ।
यहाँ वन क्षेत्रमा मूल फुटेर आएको पानी संरक्षण गरेर पोखरीहरु निर्माण गरिएको छ । लगभग १५ बिघा क्षेत्रमा फैलिएको सिमसारको दक्षिणी भागमा पहिले कटकबहादुर बस्नेत नामक व्यक्तिले बाँध बाँधी खेतीका लागि पानीको प्रयोग गरेका हुनाले यसलाई कटके बाँध पनि भनिन्थ्यो ।
यस सिमसार क्षेत्रमा अनेक प्रकारका जडीबुटी, वनस्पति र वन्यजन्तु तथा चराचुरूङ्गीहरू पाइन्छन् । वनस्पति र वन्यजन्तुको अध्ययन गर्नेका लागि पनि यो क्षेत्रलाई महत्वपूर्ण मानिन्छ । बेतना पोखरीको उत्तरी भागमा देवीको थान छ । त्यहँ एउटा रूखका फेदमा केही ढुङ्गाहरू राखेर तिनैलाई देवी मानी पूजाआजा गर्ने चलन रहेको पाइन्छ ।
लोपोन्मुख कछुवाको वासस्थान
बेतनामा विभिन्न प्रजातिका कछुवा पाइन्छन् । तीमध्ये अति सङ्कटापन्न सूचीमा रहेको कछुवा पनि बेतनामा रहेको दुई वर्ष अघि पत्ता लागेको छ । निलोस्सोनिया निगृकन्स वैज्ञानिक नाम रहेको ब्ल्याक सफ्ट सेल अर्थात् कालो नरम खपटे जातको कछुवा बेतनामा रहेको पुष्टि भएको हो ।
बेतना सिमसारमा धेरै वर्ष अघिदेखि रहँदै आएका ती कछुवालाई मयूर प्वाँखे कछुवा भनिन्थ्यो । तर त्यसको च्यापु हेरेपछि त्यो नयाँ प्रजातिको कछुवा भन्ने पुष्टि भएको हो । सन् २०२२ मा आरको नेपालको सहयोगमा अस्ट्रियाका वैज्ञानिक डा. पिटर प्रस्छाङको नेतृत्वमा गरिएको अनुसन्धानले सो कछुवालाई नेपालमा पाइने नयाँ प्रजातिको कछुवा भनी आधिकारिकता दिएको हो ।
तराईका केही जिल्लामा मात्र भेटिने मयूर प्वाँखे कछुवा अन्यन्त्रको तुलनामा पूर्वी नेपालमा बढी मात्रामा भेटिने गरेको छ ।
दुर्लभ राजगिद्ध संरक्षित
यस सिमसारमा दुर्लभ राजगिद्ध संरक्षण गरेर अवलोकनका लागि राखिएको छ । सिमसार क्षेत्रमा निर्माण गरिएको विशेष पिंजडामा २ वटा गिद्धलाई विगत केहि वर्षदेखि राखिएको हो । जसले पर्यटकको ध्यान तान्ने गरेको पाइन्छ ।
यो गिद्ध नेपालमा पाइने ठूला गिद्धका प्रजातिमध्ये एक हो, जसलाई लोपोन्मुख सूचीमा राखिएको छ । हाल नेपाल सरकारले यसलाई संरक्षित पक्षीको रूपमा सूचीकृत गरेको छ ।
नजिकका अन्य पर्यटकीय क्षेत्र
बेतनाको आसपासमा अन्य पर्यटकीय क्षेत्र पनि छन् । बेतनामा आउने पर्यटकलाई ती क्षेत्रमा लाने कार्यमा पनि सो सिमसारले महत्वपूर्ण भूमिका खेल्न सक्छ । पूर्वी क्षेत्रमा प्याकेजको रुपमा पर्यटकलाई विहार गराउने व्यक्ति वा कम्पनी नभएकाले बेतना आउने पर्यटकलाई नगरका अन्य पर्यटकीय क्षेत्रमा लगेको देखिँदैन ।
बेतनाको आसपासमा अमना सिमसार, सिसौली सिमसार, धनपालगढी, झलझली बाँध, हाँडीदह, र भुलभुलेजस्ता पर्यटकीय क्षेत्र छन् । एउटै सिमसारका दुई भागको रुपमा हाँडीदह भुलभुले, महाराजथान भव, जाल्पादेवी भव, कुइरीखोला सिमसार, मखनपोखरी, गयल पोखर तथा रमिते भ्यु टावर, सृजना पार्कलगायतका पर्यटकीय क्षेत्र बेतनाबाट टाढा छैनन् ।
बेतनामा आउने पर्यटकलाई आसपासका नयाँ पर्यटकीय क्षेत्र घुमाएर कोशी पर्यटन वर्षमा बेलबारीले नयाँ पर्यटक भित्र्याउन सक्ने देखिन्छ ।








