लेटाङः लेटाङ नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२\०८३ का लागि ६१ करोड ६ लाख २८ हजार २ सय रुपैयाँको बजेट ल्याएको छ । मंगलबार बसेको लेटाङ नगरपालिकाको १७ औँ नगरसभामा नगर उपप्रमुख कृष्णकुमारी निरौलाले प्रस्तुत गर्नुभएको सो बजेट तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो ।
सो बजेटमध्ये चालुतर्फ ४२ करोड १७ लाख ६० हजार ४०० र पूँजीगततर्फ १८ करोड ८८ लाख ६७ हजार ८०० रुपैयाँ विनियोजन गरिएको छ । भौतिक पूर्वाधार विकासतर्फ सबैभन्दा बढी ८ करोड ५६ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
सामाजिक विकासतर्फ ३ करोड ४१ लाख ४२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । जसमध्ये शिक्षातर्फ १ करोड ८३ लाख, स्वास्थ्यमा ७६ लाख ५२ हजार, महिला बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ ३६ लाख १० हजार, युवा तथा खेलकुद विकासतर्फ ३० लाख ८० हजार, भाषा संस्कृति प्रवद्र्धन तथा संरक्षणतर्फ १० लाख र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण तर्फ ५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
आम्दानीको अनुमान
नगरको आम्दानीतर्फ आन्तरिक आयबाट २ करोड ७२ लाख ३५ हजार, दहत्तर बहत्तर दुई करोड १० लाख, अल्या २ करोड ५० लाख, संघीय सरकार राजस्व बाँडफाँड ११ करोड ८३ लाख २२ हजार २००, प्रदेश राजस्व बाँडफाँड ८५ लाख ५० रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
मालपोतबाट १ करोड २५ लाख र मनोञ्जन करबाट १२ लाख ५० हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । संघ र प्रदेश सरकारले दिने समपूरक र समानीकरण अनुदान समेत गरी ६१ करोड ६ लाख २८ हजार २०० रुपैयाँको आम्दानी अनुमान गरिएको छ ।







