विराटचोकः असार महिनामा ५ जलविद्युत कम्पनीको लक इन अवधि सकिने भएको छ । जसमध्ये एउटाको लक इन अवधि असार २ गते सकिएको छ । अर्काेको असार ७ गते सकिएको छ । अब ३ कम्पनीको लक इन अवधि समाप्त हुने क्रममा रहेको छ ।
जलविद्युत कम्पनीको संस्थापक, आयोजना प्रभावित स्थानीय तथा कर्मचारीको शेयरमा लकइन अवधि राख्ने गरिन्छ । सर्वसाधारणको लागि जारी भएको आईपीओ नेपाल धितोपत्र बोर्डमा सूचीकृत भएको ३ वर्षसम्म ती शेयर बेच्न पाइँदैन । जसलाई लक इन अवधि भनिन्छ । लकइन अवधि सकिएको भोलिपल्टबाट ती शेयर साधारणसरह सोही मूल्यमा कारोबार हुन्छ । जसले गर्दा शेयर संख्या बढ्न गई मूल्य घट्ने सम्भावना हुने भएकाले धितोपत्र बोर्डको निर्देशनपछि ती कम्पनीहरूले एक महिना पहिले नै सार्वजनिक सूचनामार्फत् लकइन अवधि सकिने सूचना दिने गर्छन् ।
असारमा विन्ध्यबासिनी हाइड्रोपावर, दोर्दीखोला जलविद्युत् कम्पनी, हिमालयन हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी र अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमा लकइन अवधि सकिने भएको हो । जसमध्ये विन्ध्यबासिनी हाइड्रोपावरको संस्थापक, कर्मचारी र स्थानीय प्रभावितको गरी कुल ९६ लाख ७१ हजार ८८ कित्ता शेयरको लक इन असार २ गते सकिएकाले असार ३ गतेदेखि ती शेयर सर्वसाधारणसरह किनबेच हुन थालेका छन् ।
दोर्दी खोला जलविद्युत् कम्पनीको संस्थापक, स्थानीय प्रभवित र कर्मचारीको गरी कुल ८४ लाख १२ हजार ९६० कित्ता शेयरको असार ७ गते लकइन अवधि सकिएको छ ।
हिमालयन हाइड्रोपावर कम्पनीको संस्थापक, आयोजना प्रभावित र कर्मचारीको गरी कुल ९० लाख २१ हजार ११५ कित्ता शेयरको असार २७ गते लकइन अवधि सकिने भएको छ ।
अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको १ करोड १५ लाख ८१ हजार ६५० कित्ता शेयरको असार २९ गतेदेखि लकइन अवधि सकिने भएको छ ।
अपर हेवाखोला हाइड्रोपावर कम्पनीको संस्थापक शेयर, कर्मचारी र स्थानीयबासीको गरी ३५ लाख कित्ता शेयरको असार ३१ गते लकइन अवधि सकिने भएको छ ।
सम्बन्धित समाचारः
अपर सोलु हाइड्रोको १ करोड १५ लाख कित्ता शेयरको लक इन अवधि असार २९ गते सकिने







