काठमाडौंः पूर्व उद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य ढुण्डीराज शास्त्री (पौडेल)को ९० वर्षको उमेरमा आज काठमाडौंको केएमसी अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
शास्त्री अर्घाखाँचीको साबिक किमडाँडा–८ हाल भूमिकास्थान नगरपालिका–८ निमडाँडामा बुबा खेमराज पौडेल र माता सावित्रा पौडेलका जेठो सन्तानका रूपमा विसं १९९३ सालमा जन्मनुभएको थियो । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी छन् । दुवै छोराहरु देश बाहिर रहेकाले उनीहरू आएपछि दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
२०४८ सालको निर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट भारी मतले विजयी भई उद्योगमन्त्री बनेका शास्त्री वि.सं. २०५१ को मध्यावधि निर्वाचनमा पनि विजयी हुनुभएको थियो ।







