विराटचोकः प्रदेश सरकार स्थापना भएको ७ वर्षमा भएका प्रगति विवरणसहितको आर्थिक सर्भेक्षण रिपोर्ट सार्वजनिक भएको छ । सो सर्भेक्षण प्रतिवेदनमा सडक, पुल, खानेपानी, सिंचाईलगायत स्वास्थ्य र सामाजिक क्षेत्रमा गरेको प्रगतिको विवरण उल्लेख छ ।
सो प्रतिवेदनअनुसार कोशी प्रदेशमा हाल ३ लाख ५९ हजार ९६० हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको छ । जसमध्ये वर्षैभरी सिंचाइ सुविधा पुगेको क्षेत्रफल ३७.३ प्रतिशत छ । साना सिंचाइ कार्यक्रम मार्फत् १ हजार १५७ वटा कृषक कुलो सुधार भएर २० हजार ४ सय हेक्टर जमिनमा सिंचाइ सुविधा व्यवस्थित भएको छ ।
हालसम्म ३९० किलोमिटर तटबन्ध निर्माण भएको छ भने ८३ वटा पहिरो व्यवस्थापनको काम भएको छ । निर्माणाधीन ७७ वटा बहुवर्षीय सडक आयोजनामध्ये २०८१ चैतसम्ममा ३९ वटा सडक निर्माण सम्पन्न भएका छन् । ती सडकको जम्मा लम्बाई ४४८.६४ किलोमिटर रहेको छ । सो अवधिको चैत मसान्तसम्ममा ९३ वटा मोटरेवल पुल, २२४ झोलुङ्गे पुल निर्माण भएका छन् । १ हजार ४२०.५७ किलोमिटर ग्राभेल, १ हजार २ सय किलोमिटर कच्ची सडक र ६१२ किलोमिटर कालोपत्रे सडक निर्माण भएको छ ।
जनता आवास कार्यक्रममार्फत् ७ हजार २८४ वटा घर निर्माण गरी आर्थिक रुपले विपन्न तथा लोपोन्मुख समुदायको नागरिकलाई हस्तान्तरण गरिएको छ । कोशी प्रदेशका ९३.०६ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानीको सुविधा पुगेको छ । प्रदेश सरकारले सञ्चालन गरेका खानेपानी आयोजनाबाट मात्रै ४५ लाख ९ हजार ४३० जनसंख्या लाभान्वित भएका छन् ।
जम्मा जनसङ्ख्याको ९९.३ प्रतिशतमा विद्युतको पहुँच पुगेको छ । प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ । विभिन्न व्यक्तिले अन्तरंग, बहिरंग र आकस्मिक सेवा गरी ७५ लाख ३३ हजार पटक स्वास्थ्य संस्थाबाट सेवा लिएका छन् । प्रदेशमा सरदर आयु ७०.४ वर्ष रहेको छ । नवजात शिशु मृत्युदर प्रति हजार जीवित जन्ममा २० रहेको छ । प्रति लाख जीवित जन्ममा मातृ मत्युदर कोशी प्रदेशमा १५७ रहेको छ ।
सबै तहका अस्पताल २२५ र आधारभूत स्वास्थ्य सेवा केन्द्र १ हजार ४५७ गरी १ हजार ६३५ वटा स्वास्थ्य संस्था रहेका छन् । आयुर्वेद स्वास्थ्य संस्थाको संख्या ११८ रहेको छ । कोशी प्रदेशमा विगत सात वर्षमा २४८ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ ।
प्रदेश सरकारले बेरुजू फस्र्यौट प्रगति पनि बढाउँदै लगेको छ । कोशी प्रदेश सरकारले सात आर्थिक वर्षको लेखापरीक्षणमा ८ अर्ब ४२ करोड २१ लाख बेरुजू रहेकोमा ३ अर्ब २ करोड १५ लाख फर्छयोट गरी ५ अर्ब ४० करोड ६ लाख रुपैयाँ फर्छयोट हुन बाँकी रहेको छ । जसमध्ये ३ अर्ब ७६ करोड ३३ लाख रुपैयाँ (६९.६ प्रतिशत) पेश्की बेरुजु रहेको छ ।
चालु आर्थिक वर्षको चैतसम्ममा ३ अर्ब ७९ करोड ८५ लाख राजस्व सङ्कलन गरेको छ । गत वर्ष याही अवधिमा ३ अर्ब ५० करोड ५० लाख राजस्व संकलन भएको थियो । जसमा पूँजीगत लाभकरको हिस्सा ३३.७ प्रतिशत थियो ।
कोशी प्रदेशमा हालसम्म ठूला २५२, मझौला ३९९ र साना ८५ हजार २७० वटा गरी जम्मा ८५ हजार ९१९ वटा उद्योग सञ्चालनमा छन् । कोशीमा २०८१ चैत मसान्तसम्ममा लघु, घरेलु तथा साना उद्योगको संख्या ९८ हजार ६ सय १४ रहेको छ । ती उद्योगमा प्रस्तावित कुल लगानी १ खर्ब २४ अर्ब ७१ करोड र कुल प्रस्तावित रोजगारी १ लाख ५५ हजार ३ सय २२ रहेको छ ।
मोबाइल बैंकिङ सेवा लिने ग्राहकको सङ्ख्या आर्थिक वर्ष २०७६–७७ मा १६ लाख ११ हजार रहेकोमा २०८१–८२ को चैतसम्म ३८ लाख ५८ हजार पुगेको छ ।
२०८१ फागुनसम्म कोशी प्रदेशमा जम्मा ४९१ बीमक संख्या रहेका छन् । उक्त संख्या मुलुकको कुल बीमक संख्याको १६.४ प्रतिशत हो । कोशी प्रदेशमा २०८१ फागुनसम्म बीमा प्रिमियम बापत संकलन भएको रकम १६ अर्ब १ करोड पुगेको छ ।
सन् २०२३ मा कोशी प्रदेशमा ठूला हिमाल पर्वतारोहीको संख्या ८ सय ५८ रहेको थियो । सन् २०२४ मा पर्वतारोहीको संख्या २० प्रतिशतले वृद्धि भई १ हजार ३२ पुगेको छ । आर्थिक वर्ष २०८०–८१ मा कोशी प्रदेशमा पर्ने हिमाल पर्वतारोहणबाट १ अर्ब ३९ करोड ३५ लाख रोयल्टी सङ्कलन भएको छ । प्रदेश सरकार अन्तर्गत पर्यटन विकास आयोजनाबाट आर्थिक वर्ष २०७५–७६ देखि २०८०–८१ सम्म १ हजार ७४ वटा पर्यटकीय पूर्वाधार निर्माण सम्पन्न भएको छ भने ९६ वटा आयोजनाको विस्तृत अध्ययन गरिएको छ ।
२०८० चैतसम्ममा १६० वटा विद्यालयमा विद्यालय नर्सिङ कार्यक्रम सञ्चालन रहेको थियो । २०८१ चैतसम्म १७९ विद्यालयमा विस्तार भएको छ । यस कार्यक्रमबाट १ लाख ५६ हजार विद्यार्थी लाभान्वित भएका छन् । प्रदेश स्थापना भएदेखि गत चैतसम्ममा जम्मा ६७ वटा ऐन, ३३ वटा नियमावलीहरू, ५ वटा गठन आदेश, ३ वटा नीतिहरू र ८८ वटा अन्य कानुनहरू निर्माण भएका छन् ।
प्रदेशमा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.३ प्रतिशत रहने अनुमान छ । संघीयता कार्यान्वयनको ७ वर्षमा कर्णाली प्रदेशको औसत आर्थिक वृद्धिदर सबैभन्दा बढी ४.३ प्रतिशत रहेको छ भने बागमती प्रदेशको सबैभन्दा कम ३.१ प्रतिशत छ । यस अवधिमा कोशी प्रदेशको औसत आर्थिक वृद्धिदर ३.८२ प्रतिशत रहेको छ ।
प्रदेशको कूल गार्हस्थ उत्पादन ९ खर्ब ७० अर्ब ७४ करोड रहने अनुमान छ । जसमा कृषि क्षेत्रको योगदान ३४.१ प्रतिशत रहेको छ । पछिल्लो ७ वर्षमा कोशी प्रदेशको कुल गार्हस्थ उत्पादनमा द्वितीय क्षेत्रको हिस्सा घट्दै गएको छ भने सेवा क्षेत्रको हिस्सा बढ्दै गएको छ । यस अवधिमा कोशी प्रदेशको कुल गार्हस्थ उत्पादनमा प्राथमिक क्षेत्र, द्वितीय क्षेत्र र सेवा क्षेत्रको औसत योगदान क्रमशः ३४.३, १६.६ र ४९.१ प्रतिशत रहेको छ ।
प्रतिव्यक्ति आय १ हजार ४०१ अमेरिकी डलर रहने अनुमान छ । राष्ट्रिय आय भने १ हजार ४९६ अमेरिकी डलर रहेको छ ।







