काठमाडौंः नेपालका पर्यटन पेशाकर्मीहरूका लागि चिनियाँ भाषा प्रशिक्षण शुरु भएको छ । नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा बोर्डको सभाहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले चिनियाँ भाषा प्रशिक्षणको सातौं ब्याचको उद्घाटन गर्नुभएको हो ।
मन्त्री पाण्डेले कार्यक्रममा सहभागी चिनियाँहरूलाई नेपालको प्रकृति हेर्नका लागि आह्वान गर्नुभएको थियो । जलवायु परिवर्तनका कारण नेपालका हिमालहरूमा हिउँ कम देखिने गरेको उल्लेख गर्दै जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलनका कामहरू पनि भइरहेको उहाँले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि चिनियाँ राजदूत छेन सोङले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वर्षगाँठका अवसरमा सातौं भाषा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिक्मत सिंह ऐरले चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त पहलमा भएको चिनियाँ भाषा प्रशिक्षण महत्वपूर्ण पहल भएको बताउनुभयो ।
नेपालमा चिनियाँ भाषा प्रशिक्षणको विगतका ६ वटा व्याचबाट २४० जना प्रशिक्षित भइसकेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल–चीनबीचको सम्बन्ध बलियो बनाउन नेपालका पर्यटनकर्मीहरूलाई चिनियाँ भाषा प्रशिक्षण गराउने सहमति भए अनुरुप सन् २०१६ देखि नेपालमा चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ ।







