खेमचन्द्र अधिकारी
सुन्दरहरैंचा– २ निवासी योगराज बास्तोलाले आफ्नो प्रौढावस्थामा गरेका चिन्तनलाई लिपिबद्ध गरी २०७९ सालमा मेरो दृष्टिकोण नामक कृति सार्वजनिक गर्नुभएको छ । कृति एउटै विधामा छैन । साहित्यका विद्यार्थीलाई बास्तोलाका रचनामा मिठास नआउन सक्छ तर नेपाली समाजका पुरातन रीतिथिति र विभन्न विषयको खुराक बास्तोलाको सो कृति बन्न सक्ने प्रष्ट छ ।
आफ्नो परिचय पनि साहित्यकारले कवितात्मक रुपमा प्रस्तुत गर्नुभएको छ । कृतिभित्र कविता, गीत, भजनका साथै प्यारोडी भजन पाइन्छ । साहित्यिक, सामाजिक, तथा विभिन्न विधाका लेखहरु पनि कृतिभित्र समेटिएका छन् ।
बास्तोला आफूसँग भएको ज्ञान, आफ्नो प्रतिभा र आफ्नो अनुभव सबैसामु साट्न हिच्किचाउनुहुन्न भन्ने उहाँका रचना अध्ययन गर्दा थाहा हुन्छ । वर्णविन्यास नमिलेकै भए पनि उहाँका कतिपय रचनामा जीवन जगतका पाटा कसरी मिलाउने, समाजमा कसरी रमाएर बस्ने, कसरी आफू पनि बाँचेर धर्तीमा अरुलाई बचाउन उद्यत हुने भन्ने भाव उहाँका रचनामा प्रशस्त पाइन्छ ।
वृद्धावस्था हुँदै जाँदा कस्ता समस्या आउँछन् भन्ने उहाँले जन्मेदेखि बुढेसकालसम्मको व्यवहार शीर्षकको कवितामा प्रस्तुत गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ
लौरोबिना हिँड्न छोड्यो लाठी भयो साथी
हातगोडा बाउँडिन्छन् निन्द्रा आउँदैन राति ।
ऐया ! मरे ढाड दुख्यो सबै शरीर पोल्छ
छेउमा साथी कोही छैन आफूमात्रै बोल्छ ।।
बल्लबल्ल खान दिन्छन् आँखा तरेर
बाँचौँ अब लौ त्यो बेलामा कष्ट गरेर ।
शौचालय जान पनि भित्तो समाउँछ
शरीर फोहोर भई आफैँलाई घिनाउँछ ।।
सफा गर्न सक्दैन त्यो छाला चाउरी पर्याे
जन्मिएदेखि दुःख सम्झी बरर आँशु झर्याे ।
खान पनि मिठो छैन दिन्छन् साह्रो भात
बल्ल दुई गाँस निल्छ, कसरी काटौँ रात ।। (पृ.२९–३०)
कृतिभित्र आध्यात्मिक भाव भएका लेख धेरै पाइन्छन् । कतिपय लेखमा सिलसिला नमिलेको वा शीर्षकअनुसार भाव नमिलेको पनि पाइन्छ ।
जे भए पनि प्रौढावस्थामा लेखनमा संलग्न भई कृतिको रुपमा प्रकाशन गरी सबैसामु पुर्याउन मिहिनेत गर्नुभएका बास्तोलाको कलमलाई नमन ।







