विराटनगरः उद्योग व्यवसाय क्षेत्रलाई आवश्यक जनशक्ति र बजारमा उपलब्ध मानव स्रोतबीच रहेको दक्षताको अन्तरका साथै सीप विकासका विविध पक्षलाई उजागर गर्ने उद्देश्यले उद्योग संगठन मोरङले ‘सीप उत्सव २०८३’ को आयोजना गर्ने भएको छ ।
स्वीस सरकारको आर्थिक सहयोग, इन्स्योर–हेल्भेटास नेपालको प्राविधिक सहयोग तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा सीप उत्सव २०८३ हुने भएको हो ।
आज उद्योग संगठन मोरङको सचिवालय विराटनगरमा बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुने उत्सवमा अन्तर शिक्षालय सीप प्रतियोगिता, लाइभ तालिम, वृत्ति परामर्शका गतिविधि सञ्चालन गरिने भएको छ । सोही दिन अपराह्न साढे ४ बजे अन्तिम चरणको सीप प्रतियोगितामा उत्कृष्ट हुन सफल प्रतियोगीलाई पुरस्कार प्रदान गरिने संगठनले जनाएको छ ।
उत्सवले तालिम प्रदायक संस्था, उद्योग प्रतिष्ठान, सरकारी निकाय तथा प्रशिक्षार्थी बीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाउँदै आवश्यकता अनुरूपको दक्ष जनशक्ति उत्पादन, रोजगारीका अवसरको सुनिश्चितता तथा स्वदेशमै रोजगारीका सम्भावना रहेको सन्देश प्रवाह गर्ने उद्योग संगठन मोरङले जनाएको छ ।
उत्सवमा सूचना प्रविधि, होटल म्यानेजमेन्ट तथा अटोमोवाईलको विधामा सीप प्रतियोगिताका साथै माटाको भाँडावर्तन, प्लम्बिङ, इण्डष्ट्रियल अटोमेशन, सि.सि.टि.भि, थ्रिडी प्रिन्टिङ, ग्रीन स्किलका विधामा लाइभ तालिम र विद्यार्थी तथा युवाहरूका लागि करियर काउन्सिलिङ र वृत्ति परामर्श सत्र सञ्चालन गरिने भएको छ ।
सो उत्सवमा सूचना प्रविधि, होटल व्यवस्थापन, अटोमोबाइल इन्जिनियरिङ अध्ययनरत विद्यार्थी, उद्योग प्रतिष्ठानका प्रतिनिधि, प्राविधिक शिक्षालय, सूचना प्रविधि, हस्पिटालिटी क्षेत्रका प्रदेश तथा जिल्ला स्तरका विभिन्न संघसंस्थाहरूको सहभागिता रहने बताइएको छ ।




