खेमचन्द्र अधिकारी
विगत दुई दशकदेखि फुटकर लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशन गर्नुभएका साहित्यकार हरिप्रसाद बरालले २०६८ सालमा उद्घोषभित्रका फूलहरू नामक समालोचनात्मक कृति प्रकाशन गर्नुभएको छ । २०७८ सालको साउनमा पुस्तकहरुको माझैमाझ प्रकाशन गर्नुभएका बरालले सोही सालको माघमा काव्यिक बिम्बको फूलबारी नामक कविता सङ्ग्रह प्रकाशन गर्नुभएको छ ।
२०५३ सालदेखि दैनिक रूपमा कविता लेखनमा सक्रिय साहित्यकार बरालले ‘काव्यिक बिम्बको फूलबारी’ मा समेटिएका ३६ ओटा कवितामा विभिन्न विषय उठान गर्नुभएको छ । तीमध्ये मुख्य विषयको यहाँ जानकारी दिने प्रयास गरिएको छ ।
मातृवियोग शीर्षकको कवितामा आमाको मृत्यु हुँदाको समयको कल्पना गरिएको छ ।
कहिलेकाहीँ खान्नँ भन्नुहुन्थ्यो
म बेस्सरी मुटु हल्लिन्थेँ
आमालाई केही हुन्छ भन्ने त्रासले
कच्याककुचुक हुन्थेँ
एक दिन मलाई खाना रुचेन भने
रातभरी छट्पटिनुहुन्थ्यो
आज तपाईँलाई जलाएर फर्किँदा
म के भएँ ? (पृ.३)
पितासँग बिछोडिनुपर्दाको पीडा पनि साहित्यकार बरालले ‘पिताजी’ शीर्षकको कवितामा अभिव्यक्त गर्नुभएको छ ।
सम्झन्छु
त्यो क्षण कति सुन्दर थियो,
वेदान्त दर्शनभित्रको उज्यालोले
घर झिलिमिली थियो,
अज्ञानले ल्याएका अन्धविश्वासका
फोहोरहरू फालिन्थे,
अति सुन्दर भविष्यका बिरुवाहरू रोपिन्थे
दिमागभरी रोपिएको त्यो अतीत
आज कवितामा गङ्गासागर उर्लिएको छ
स्वाभिमानी कमलको फूल
हलक्क बढाउन खोज्नुुहुन्थ्यो,
आज त्यो फूल कवितामा फुलेको छ । (पृ.६)
कविताको जीत शीर्षकको कवितामा कविताको शक्तिको बारेमा वर्णन गरिएको छ ।
ईश्वर शीर्षकको कवितामा ईश्वरवादी भाव व्यक्त भएको छ ।
समय शीर्षकको कवितामा समयलाई ईश्वरझैँ अदृश्य तर शक्तिशाली मानिएको छ । उहाँ भन्नुहुन्छः
समय त ईश्वर पनि हो
न कसैले आँखाले देख्छ
न कसैले कानले सुन्छ
न यसलाई आगोले पोल्छ
न यसलाई पानीले भिजाउँछ
न यो हतियारबाट काटिन्छ । (पृ.१२)
हाम्रा पूर्वजप्रति आदर सम्मान गर्नुपर्छ भन्ने भाव पुर्खाहरू शीर्षकको कवितामा अभिव्यक्त भएको छ ।
पुर्खाहरू आकाशमा
देवता भएर घुमिरहन्छन्
म तिनीहरूलाई सुन्दरताको आँखाले
हरक्षण हेरिरहन्छु,
मभित्रको ईश्वर त्यहाँ गएर
जीवनको मधुर धुनमा हराउँछ
पुर्खाहरू शब्दवर्षा भएर
मलाई स्पर्श गर्न
पृथ्वीमा ओर्लन्छन् । (पृ.१७)







