खेमचन्द्र अधिकारी
हर्कमान तामाङ राजनीति र साहित्य क्षेत्रमा परिचित नाम हो । तामाङलाई थप चिनाउने काम गर्नुभएको छ अनुसन्धाता केशु विरहीले ‘उपद्रष्टा हर्कमान तामाङ’ कृतिमार्फत् ।
कतिपयले तामाङको राजनीतिक व्यक्तित्व मात्रै जानकारी पाउनुभएको थियो भने कतिपयले साहित्यिक व्यक्तित्वमात्रै । लेखक विरहीले ती दुवै व्यक्तित्वको केस्राकेस्रा केलाउने काम ‘उपद्रष्टा हर्कमान तामाङ’ कृतिमा गर्नुभएको छ । त्यति मात्रै होइन उहाँको सामाजिक व्यक्तित्व, जागिरे व्यक्तित्वलगायतका अन्य व्यक्तित्वलाई पनि सबैसामु छर्लङ्ग पार्नुभएको छ ।
कृतिभित्र ६ ओटा अध्यायमार्फत् तामाङको परिचय दिइएको छ । जसमध्ये पहिलो अध्यायमा तामाङको जीवनी प्रस्तुत गरिएको छ । सो अध्यायमा तामाङको जन्म र बाल्यकाल, शिक्षा, वैवाहिक सम्बन्ध र सन्तान, संलग्नता, भ्रमण, प्रकाशित कृति अनि पुरस्कार तथा सम्मान उपशीर्षकमा तामाङलाई चिनाउने प्रयास गरिएको छ ।
हर्कमान तामाङको व्यक्तित्व शीर्षकको दोस्रो अध्यायलाई साहित्यिक व्यक्तित्व र साहित्येतर व्यक्तित्व गरेर दुई भागमा विभाजन गरिएको छ । साहित्यिक व्यक्तित्वअन्तर्गत कवि, कथाकार, उपन्यासकार, समीक्षक, निबन्धकार, अनुवादक, सम्पादक, गीतकार तथा गायक व्यक्तित्वभित्र रहेर अनुसन्धान गरिएको छ ।
साहित्येतर व्यक्तित्वअन्तर्गत सामाजिक व्यक्तित्व, पारिवारिक व्यक्तित्व, राजनीतिक व्यक्तित्व र जागिरे व्यक्तित्वमाथि प्रकाश पार्ने काम विरहीले गर्नुभएको छ ।
तेस्रो अध्यायमा साहित्यिक यात्रा र चरण विभाजन गरिएको छ ।
चौथो अध्यायमा तामाङका साहित्यिक रचनाहरुको अध्ययन गर्ने क्रममा कथा, कविता, उपन्यास र निबन्ध विधाका रचनाको अध्ययन गरिएको छ ।
पाँचौँ अध्यायमा तामाङका मान्यता, प्रवृत्ति र योगदानको चर्चा गरिएको छ । मान्यता अन्तर्गत वैचारिकता, कर्मवादी तथा आदर्शवादी जीवनदृष्टि, पूर्वीय दर्शनका अध्येता, शालीन विद्रोह, निष्ठाको राजनीति, क्षमाशील व्यक्तित्व, निष्काम कर्मयोगी, योजनाकार, सांस्कृतिक अभियन्ता, युगचिन्तक र अन्तर्मुखी स्वभाव गरी ११ उपशीर्षक दिएर अनुसन्धाता विरहीले अध्ययन गर्नुभएको छ ।
साहित्यिक प्रवृत्तिअन्तर्गत सामाजिकता, कानुनी राज्यमा जोड, मनोविज्ञानको सफल प्रस्तुति, श्रमको दुरुपयोगमाथि विमति, राष्ट्रप्रेम, मानवतावाद, व्यावहारिक शिक्षामा जोड, बाल अधिकारमा जोड तथा सरल भाषाशैली उपशीर्षकमा आधारित रहेर अध्ययन गरिएको छ ।
साहित्यिक योगदानमा सङ्ख्यात्मक योगदान, ऐतिहासिक योगदान र गुणात्मक योगदानको चर्चा गरिएको छ ।
छैटौँ अध्यायमा उपसंहार शीर्षकमा अध्ययन गर्दै भोजपुरको सामान्य परिवारमा जन्मिएका तामाङले गर्नुभएको सङ्घर्षलाई प्रस्तुत गर्दै अनुसन्धानको सार प्रस्तुत गरिएको छ ।