विराटचोकः उर्लाबारी उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सवमा इन्टरनेट सेवा प्रदायक संस्था आइ जोनले निःशुल्क वाइफाइ सेवा प्रदान गरेको छ ।
उर्लाबारीमा केन्द्रीय कार्यालय रहेको आइ जोनले ५०० जनाभन्दा धेरै व्यक्तिले एकसाथ चलाउन मिल्ने वाइफाइ सेवा महोत्सवमा उपलब्ध गरएको हो । कम्पनीका बजार व्यवस्थापक प्रमुख तारा खतिवडाका अनुसार महोत्सव स्थलका विभिन्न भागमा डिभाइस राखिएकाले महोत्सवस्थलमा निःशुल्क वाइफाइ सुविधा प्रदान गर्न सकिएको हो ।
खतिवडाका अनुसार आई जोनले कोशी प्रदेशका विभिन्न पालिकासँगको समन्वयमा ती पालिकाका विभिन्न स्थानमा निःशुल्क वाइफाइ सेवा प्रदान गरेको छ । त्यस्तै, ट्राफिक प्रहरी कार्यालय उर्लाबारी, सञ्चार क्लब उर्लाबारी, नेपाल रेडक्रस सोसाइटी उर्लाबारीलगायतका कार्यालयका साथै विभिन्न मठमन्दिरलाई पनि निःशुल्क वाइफाइ सेवा प्रदान गरिएको छ ।
मेला, महोत्सवहरुमा तथा फुटबललगायतका अन्य विभिन्न प्रतियोगिताहरुमा पनि निःशुल्क वाइफाइ प्रदान गर्ने गरिएको खतिवडा बताउनुहुन्छ ।







