काठमाडौंः आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले सार्वजनिक गर्नुभएको छ ।
सो बैठकले उपत्यकाका तीन जिल्लाभित्रका सम्बन्धित मुद्दाहरु हेर्ने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय भएको छ । बैठकले सडक सुरक्षा सम्बन्धी चौथो विश्वव्यापी मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई मोरक्को जान स्वीकृति दिने निर्णय गरेको छ । नापी कार्यालयहरू स्थापना गर्न संगठन संरचना र दरबन्दी स्वीकृत पनि गरेको छ ।
यस्ता छन् सरकारले गरेका १८ निर्णयहरुः
१. ऊर्जा, जलस्रोत तथा नेपाल–भारत सीमादेखि भारतको मुजफ्फरपुरसम्म (भारतीय खण्ड) को प्रशारण लाइन निर्माणको लागि स्थापित क्रस बोर्डर पावर ट्रान्समिसन कम्पनीको विक्रीमा रहेको आईएल एण्ड एफएसरइनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको नेपाल विद्युत प्राधिकरणको हिस्सामा पर्ने २९,७३,१६३ कित्ता संस्थापक शेयर खरिद गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिने ।
२. काठमाडौं उपत्यका मुकाम रहने गरी काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन गर्ने ।
३. राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ३ बमोजिमको कार्य गृह मन्त्रालयका सचिवबाट सम्पादन गर्ने गरी अधिकार प्रत्यायोजन गर्ने ।
४.२०८१ फागुन ६ देखि ८ गतेसम्म मोरक्कोको माराकेशमा आयोजना हुने सडक सुरक्षासम्बन्धी चौथो विश्वव्यापी मन्त्रीस्तरीय सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
५. बालसुधार गृह भक्तपुर, मोरङ, कास्की र बाँकेको सञ्चालन र व्यवस्थापनको लागि ज्येष्ठ नागरिक तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र न्युनतम सुविधा विहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप नेपाल) बीच भएको सम्झौताको अवधि २०८२ साल असारमसान्तसम्मको लागि थप गर्ने ।
६. सैनामैना नगरपालिका रुपन्देहीलाई सैनामैना फोहर व्यवस्थापन केन्द्र निर्माणको लागि रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं १० मा रहेको राष्ट्रिय वनको ३.५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।
७. वन तथा वातावरणअन्तर्गत आगामी २०८२ साल जेठ २, ३ र ४ गते काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने ।
८. भेरी पम्पिङ्ग उपआयोजना निर्माणको लागि सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं. ८, ११ र १२ तथा लेकबेसी नगरपालिका वडा नं १० मा रहेको राष्ट्रिय वनको ३.२ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।
९. २०८१ माघ २९ देखि फागुन १ गतेसम्म संयुक्त अरब ईमिरेट्सको दुबईमा आयोजना हुने द वल्र्ड गभरमेन्ट समिट, २०२५ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय शरतसिंह भण्डारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
१०. नापी कार्यालयहरू स्थापना गर्न संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने ।
११. शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने कार्यक्रमहरूको लागि आर्थिक वर्ष २०८१\८२ मा अधिकृतस्तरका थप १० अस्थायी दरबन्दी स्वीकृत गर्ने ।
१२. विश्वविद्यालय अनुदान आयोग आर्थिक कार्यविधि नियमावली, २०८१ स्वीकृत गर्ने ।
१३. आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन, २०८१ स्वीकृत गर्ने ।
१४. सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड, २०८१ स्वीकृत गर्ने
१५. नेपाल सरकार (कार्यसम्पादन) (आठौं संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने ।
१६. सुशासन (व्यवस्थापन तथा सञ्चालन) (तेस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने ।
१७. विशेष आर्थिक क्षेत्र (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने ।
१८. बढुवा समितिको सिफारिसबमोजिम निजामती सेवाका विभिन्न सेवा, समूह तथा उपसमूहका राजपत्राङ्कित द्वितीय श्रेणीका सात जना अधिकृतहरूलाई सम्बन्धित सेवा, समूह तथा उपसमूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव वा सोसरहको पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने ।







