Tuesday, December 24, 2024
Homeपर्यटनमुन्धुम पदमार्गमा तीन महिनामा एक लाख पर्यटकले गरे पदयात्रा

मुन्धुम पदमार्गमा तीन महिनामा एक लाख पर्यटकले गरे पदयात्रा

भोजपुरः चर्चित मुन्धुम पदमार्गमा गत तीन महिनामा एक लाख पर्यटकले भ्रमण गरेका छन् । भोजपुर र खोटाङको सीमा क्षेत्रको ३ हजार १ सय ६५ मिटरको टेम्के डाँडा क्षेत्रबाट शुरु हुने पदयात्रामा ३ हजार ३ सय ५० मिटरको मैयुङ डाँडा, ४ हजार १ सय ५५ मिटरको सिलिचुङ डाँडा हुँदै ३ हजार ७ सय ५० मिटरको साल्पापोखरी पुग्न सकिन्छ ।

भोजपुरको टेम्के मैयुङ गाउँपालिकाको चखेवा भञ्ज्याङबाट सुरु भएर धोत्रे भञ्ज्याङ, मैयुङ डाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पा भञ्ज्याङ हुँदै सिलिचुङ डाँडासम्म पुग्छ ।

पदमार्गको आसपासमा निर्माण भएका किराती संस्कार र संस्कृति झल्काउने विभिन्न संरचना, ठूलाठूला घाँसे मैदान, स्थानीय गोठवालाले पालेका चौरी, भेडीगोठ लगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित पारेको छ ।

मुन्धुम पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ । किरात राई, शेर्पा, तामाङलगायत जातजातिको पहिचान झल्कने परिकार, गोठवालाहरूले उत्पादन गर्ने प्राङ्गारिक खानेकुरा, विभिन्न किसिमका वनस्पति, जडीबुटीलगायतको स्वादले पदमार्गमा पर्यटकलाई थप आनन्द दिने गरेको छ ।

पदयात्राबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला देख्न सकिन्छ । किरात राईहरूको संस्कृतिसँग जोडिएकाले यो पदमार्गको नामकरण किरात राईहरूको ‘मुन्धुम’ संस्कारबाट राखिएको हो । करिब ६२ किलोमिटर पदमार्गमा २१ वटा विश्राम स्थल, २३ वटा खानेपानी धारा, ५७ वटा ढुङ्गे चौतारा छन् ।

किरात राईको संस्कृति झल्कने चिण्डो आकारका १५ वटा पोखरी निर्माण गरिएको छ । तीन महिनाको अवधिमा यो पदमार्गमा एक लाख पर्यटकले भ्रमण गरेको भोजपुरको टेम्के मैयुम गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए । पर्यटकको आवागमन बढेपछि यहाँको व्यवस्थापनमा ध्यान दिइएको र घुम्न आउने पर्यटकलाई यात्राका क्रममा आइपर्ने समस्या पहिचान गरेर समाधान गर्न गाउँपालिकाको अगुवाइमा स्थलगत रूपमा अनुगमन गरिएको उनको भनाइ छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments