विराटचोकः बिपी अध्ययन प्रतिष्ठान सुन्दरहरैंचाले मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० स्थित पर्यटकीय क्षेत्र बाघझोडामा शुक्रबार “रुखमुनिको गन्थनमन्थन” संवाद कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका विभिन्न विभागमा रहेका नेताहरूसँग संवाद गरिएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस कोशी प्रदेशका सूचना तथा प्रचार विभाग प्रमुख बाबुराम कोइराला, सुन्दरहरैंचा नगरपालिकाका पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल, नेपाली काङ्ग्रेस मोरङका सचिव ललित श्रेष्ठ, नेपाली काङ्ग्रेस सुन्दरहरैंचा नगर सभापति भक्तिप्रसाद सिटौला र नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ सुन्दरहरैंचा सभापति अमृता लिम्बू वक्ताको रूपमा हुनुहुन्थ्यो ।
वक्ताहरूले राजनीतिमा युवा सहभागिता, अवसर र सङ्गठन निर्माणमा भूमिका, सङ्गठन निर्माण, नेतृत्व विकासमा भूमिका र नेतृत्व पहिचानका आधारहरू, स्थानीय तहमा दलीय प्रतिनिधित्वको फाइदा÷बेफाइदा, दलको स्थानीय नेतृत्व र शासकीय नेतृत्वबीचको सामञ्जस्यता र सहकार्यको आवश्यकता, राजनीतिक योगदान र त्यागको मूल्यााङ्कनको अवस्था, नयाँ पुस्तासँग हातेमालो र हस्तान्तरण तथा राजनीतिमा महिला सहभागिताको अवसर, चुनौती, सम्मानजनक पहुँच र सर्वपक्षीय सहयोगको अवस्थाजस्ता विषयमा आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।
संवाद कार्यक्रमलाई बिपी अध्ययन प्रतिष्ठान नेपाल सुन्दरहरैंचाका सभापति मिराजजंग थापा र नेपाल प्रेस युनियन कोशी प्रदेश सचिव विनय बाह्रकोटीले सहजीकरण गर्नुभएको थियो ।







