केराबारीः मोरङको केराबारी गाउँपालिकाले एकै दिनमा एउटा सवारी साधनलाई २ ठाउँमा पटके कर लिने गरेको छ । धरान–केराबारी सिमानामा र सुन्दरहरैंचा–केराबारी सिमानामा एकै दिन एउटै सवारी साधनलाई दुई पटक पटके कर लिने गरिएको छ ।
शुक्रबार सुन्दरहरैंचाबाट केराबारी गएको अटो चालकले सडक उपयोग कर शीर्षकमा आफूले केराबारीभित्र दुई ठाउँमा १५ रुपैयाँका दरले कर तिर्नुपरेको बताउनुभयो । आफूले धरान –केराबारी प्रवेश बिन्दुमा पटके कर तिरेको रसिद देखाउँदा पनि त्यो अर्कै ठेकेदारको भएको र यो अर्कै ठेकेदारको भएको भन्दै कर असुल्ने गरेको उहाँले बताउनुभयो ।
ती चालकले तिरेको पटके करको रातो रङको रसीदमा ठेकेदार श्रीकृष्ण निर्माण सेवा भोक्राहा सुनसरी रहेको छ । केराबारी– खोर्साने, आमजुँगी–विराटचोक, देवीझोडा–लालभित्ती र भलुवा–बेलबारी सडक खण्डमा ती ठेकेदारले कर लिँदै आएका छन् ।
सेतो रङको रसीदमा ठेकेदार लाबा कन्स्ट्रक्सन उल्लेख छ । ती ठेकेदारले केराबारी–धरान, र मुगु–बाँसबारी नाकामा कर लिँदै आएका छन् ।
केराबारी–खोर्साने नाकामा साइकलमा कबाडी सामान उठाउनेसँग प्रति साइकल १०० रुपैयाँ पटके कर लिने गरिएको कबाडी सङ्कलकहरु बताउँछन् ।







