विराटचोकः नेपालमा आज भूकम्पसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेर २७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।
वि. सं. १९९० साल माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । सो दिन दिउँसो २ बजेर २४ मिनेट जाँदा गएको ८ दशमलव ४ म्याग्निच्युटको भूकम्पले जनधनको ठूलो क्षति गरेको थियो ।
सो भूकम्पमा परी ८ हजार ८१९ जनाको मृत्यु भएको थियो । ८० हजार घर ध्वस्त भएका थिए । ध्वस्त घरसहित घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार दुई सय ४८ संरचना भत्किएका थिए ।
१९९० पछि नेपालमा वि. सं. २०४५ र २०७२ सालमा विनाशकारी भूकम्प गएका थिए । नेपाल भूकम्पीय उच्च जोखिमको देशमा पर्दछ ।