दुलारीः सदस्यकेन्द्रित नभएका सहकारी संस्थाहरुले गरेको बदनामको अपजस देशभरका सहकारीले भोग्नुपर्ने अवस्था अहिले रहेको सहकारी संस्था लि. दुलारीका पूर्व अध्यक्ष कृष्णप्रसाद भुर्तेलले बताउनुभएको छ । सो संस्थाको ३३ औँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘सञ्चालकले शेयर सदस्य चिन्नुनपर्ने, शेयर सदस्यले सञ्चालक र कर्मचारी चिन्नु नपर्ने र कार्यालय चिन्नु नपर्ने गरी चलेका सहकारीका कारण सहकारी क्षेत्र बदनाम भएको छ’, नेपालको सहकारी आन्दोलन अहिले बद्नाम हुनुको कारण उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘ठूलो मोह राखेर, समूह नै बनाएर हिँड्नेहरुदेखि सचेत हुनपर्नेछ । सहकारीको ऋण लिएर ऋण तिर्नुपर्दैन भनेर गुमनाम हुने सदस्यको निगरानी गर्नुपर्छ ।’
सहकारी संस्थालाई बदनाम हुनबाट जोगाउन शेयर सदस्यको मुख्य भूमिका हुने उहाँको भनाइ थियो । कस्ता व्यक्ति शेयर सदस्य हुँदैछन्, कस्ता व्यक्तिले कर्जा लिँदैछन् भनेर सबै सदस्यले ध्यान दिनुपर्ने बताउँदै असलअसल व्यक्तिलाई शेयर सदस्य बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।