सुम्निमा सुब्बा
सियोल (दक्षिण कोरिया)ः दक्षिण कोरियाको एक अग्रणी बैंकिङ संस्था केबी कुकमिन बैंकले कोरियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि दुई दिने शैक्षिक कार्यक्रम आयोजना गरेको छ ।
वित्त, कोरियाको बैंकिङ प्रणाली, दिगो वित्त र वित्तको डिजिटलाइजेसनबारे सिक्ने प्लेटफर्म प्रदान गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रमलाई केबी कुकमिन बैंकले प्रायोजन गरेको हो । ‘बेब्बीकुम’ र ‘द नेल न्युज’ द्वारा आयोजित कार्यक्रममा ‘एसियाली वित्तको नेतृत्व गर्ने, भविष्यका वित्तीय नेतृत्वकर्ताहरूलाई समर्थन गर्छौँ’ भन्ने विषयवस्तु रहेको थियो । १९ देशका ३० जना विद्यार्थी सहभागी भएको सो कार्यक्रम नोभेम्बर १५ मा शुरु भएको थियो । कार्यक्रम आज नोभेम्बर १६ मा सम्पन्न हुनेछ ।
‘एसिया के बैंकर स्कुल’ शीर्षक कार्यक्रमको पहिलो दिन ग्लोबल प्रमोशन डिभिजनका टिम लिडर लिम डोङ–ग्युले सम्बोधन गर्नुभएको थियो । उहाँले केबी बैंकले ग्राहकहरूको आजीवन बैंकिङ साझेदार बन्न निरन्तर रूपमा काम गरिरहेको बताउनुभयो ।
कार्यक्रमको पहिलो दिन नै हानयाङ विश्वविद्यालयका प्राध्यापक जुङ डो युङले ‘कोरिया र विश्वको वित्त’ शीर्षकमा व्याख्यान प्रदान गर्नुभएको थियो । उहाँले एशियामा सम्भावनाले भरिपूर्ण क्षेत्र रहेको उल्लेख गर्नुभयो ।
‘इएसजी फाइनान्स’, ‘फिनटेक’ जस्ता विश्व वित्तका धेरै महत्वपूर्ण विषयहरू समूहहरूमा सहभागीहरू बीच छलफल गरिएको थियो । नेपालका साथै मंगोलिया, फिलिपिन्स, अजरबैजानलगायत एसियाका विभिन्न देशबाट भेला भएका विद्यार्थीहरूले आ–आफ्नो देशको आर्थिक अवस्थाबारे छलफल गरी एकअर्काका देशबीचका साझा समस्याहरू र समाधान खोज्ने प्रयास गरेका थिए ।
कार्यक्रमका तस्बिरहरुः