इटहरीः नेपाली समाजमा अलि अनौठो किसिमको विवाह सुनसरीको इटहरीमा भएको छ । एकल जीवन बिताइरहेकी बुहारीको सासू जानुका पौडेल र जेठाजु पुण्य पौडेलले कन्यादन गरेका हुन् ।
इटहरी उपमनगरपालिका २ की ३४ वर्षीया बुहारी सूजा पौडेलको वैदिक परम्पराअनुसार बिहीबार घरबाटै कन्यादान गरिएको हो । २०६९ सालमा फडिन्द्र पौडेलसँग झापाको बैगुन्धुराकी सूजाको विवाह भएको थियो । मागी विवाह गरेका फडिन्द्रको विवाहको २ वर्षपछि २०७१ सालमा निधन भएको थियो ।
सुनसरी डुम्राहाका रमेश रेग्मीले विवाह गर्न परिवारमै प्रस्ताव गरेपछि आफूहरुले राजीखुसी विवाह गराइदिएको जेठाजु पुण्यले बताए । बुहारीको माइती पक्षसँग पनि यस विषयमा छलफल भएर सहमति भएको उनले जनाए । रेग्मीकी श्रीमतीको २ वर्ष पहिले निधन भएको थियो । उनीतिरका एक छोरा र छोरी छन् । पौडेलकी पनि एक छोरी छिन् ।
रेग्मी सरकारी कर्मचारी तथा सुजा एनआइसी एशिया लघुवित्त बैंकमा कार्यरत रहेको बताइएको छ । सुजाका बुवा कृष्ण खतिवडाले छोरी कर्मघरबाट बेहुली भई बिदा हुन पाउनु समाजका लागि पनि उदाहरण भएको बताए । कर्मघरबाट छोरीको रुपमा बेहुली बनेर बिदाइ हुन पाउँदा गौरव लागेको बेहुली सुजाले बताइन् ।