विराटचोकः नोभेम्बर २५ देखि विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने दिवस मनाइरहिएको छ । यसै क्रममा दिवसको १४ औँ दिन सुन्दहरैंचाका तीन दर्जन संघसंस्था एकै ठाउँ भेला भएर दिवस मनाएका छन् ।
शुक्रबार बिहान ११ बजे सुन्दरहरैंचा १० त्रिवेणी चोकस्थित एकता बस्तीमा भेला भएका संघसंस्थाका प्रतिनिधिले र्याली निकाल्नुका साथै नाटक, गीत तथा मन्तव्यमार्फत् दिवस मनाएका हुन् ।
सुन्दरहरैंचा ११ को लालीगुराँस भजनकीर्तन समूह र सुन्दरहरैंचा ९ को चाँदनी महिला समाजले लैङ्गिक हिंसा अन्त्य गर्नुपर्ने सन्देश दिने नाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा नाटक प्रस्तुत गर्ने संस्थालाई नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाकी पूर्व उपप्रमुख धनमाया तामाङले लिङ्गको आधारमा महिलाप्रति हुने हिंसाको अन्त्य गर्न यस्ता कार्यक्रम सहयोगी हुने बताइन् । १६ दिनमात्रै यस्ता दिवस र अभियान नमनाई वर्षभर नै सचेतना फैलाइरहनुपर्ने र नगरका संघसंस्था त्यसतर्फ अग्रसर रहेको आफूले पाएको उनको भनाइ थियो ।
सुन्दरहरैंचा नगरपालिकाको सामाजिक शाखाका कर्मचारी अनिल पोखरेलले आज नगरका सबै संघसंस्था एउटै ब्यानरमा उपस्थित हुनु सुखद सङ्केत भएको बताउँदै संघसंस्थाको एउटा महासंघ बनाउन अनुरोध गरे । नगरभरीका गैरसरकारी संघसंस्थाको एउटा महासंघ वा सञ्जाल बनाउँदा देशमै नमूना हुने र अन्य पालिकाको लागि पनि अनुकरणीय हुने उनको भनाइ थियो ।
सृजनशील समाजकी अध्यक्ष निरु बजगाईँले सञ्चालन गरेको कार्यक्रम मेचीमहाकाली बुहारी संयुक्त आवाजकी अध्यक्ष तारा घिमिरेको अध्यक्षतामा भएको थियो ।