विराटचोकः ‘नझरेका फूलहरू’ को आयोजनामा बिहीबार विराटचोकमा भएको पलेँटी साँझमा गायक मुरलीधरले आफ्ना गीतद्वारा उपस्थित स्रोताहरुलाई मन्त्रमुग्ध बनाउनुभयो ।
पलेँटी साँझको ४३ औं शृङ्खलामा प्रस्तुत भएका गायक मुरलीधरले भजनका साथै उडायो सपना सबै हुरीले…, निष्ठुरीलाई माया गरी आफैँलाई रोगी बनाएँ…लगायतका गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा दुर्गा पराजुली, चण्डी साम्पाङलगायतले पनि गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा कृष्णभक्त राई, जे.बी. थुलुङ, देवराज न्यौपाने, आइतराज लिम्बू, टेकराज मगर, गजेन्द्र योङहाङ, पुरन राई, दुष्यान्त भट्टराई, सुमन मिरिङचिङलगायतको उपस्थिति थियो ।
साँझ ७ बजे शुरु भएको कार्यक्रम १० बजेसम्म चलेको थियो ।
गीत सङ्गीत मात्रै नभएर अभिनयको क्षेत्रमा समेत मुरलीधर प्रख्यात हनुहुन्छ । अहिले प्रदर्शन भइरहेको नेपाली चलचित्र १२ गाउँमा पनि उहाँ खलनायकको भूमिकामा रहनुभएको छ ।