काठमाडौंः निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले माघ ११ गतेका लागि राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेसँगै आयोगले कार्यतालिका सार्वजनिक गरेको हो ।
निर्वाचनका लागि आयोगले मंसिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ताको कार्यक्रम राखेको छ । पुस १ गते दलहरुलाई निर्वाचन चिह्न प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइने आयोगले जनाएको छ ।
स्वीकृत कार्यतालिका अनुसार पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन ७ वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ ।
पुस २० गतेदेखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने पनि आयोगले आफ्नो कार्यतालिकामा राखेको छ ।
माघ ११ गते बिहान ९ बजेदेखि अपराहन्न ३ बजेसम्म मतदान सञ्चालन गर्ने आयोगले जनाएको छ ।