विराटचोकः आज विश्वभर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ ।
ज्येष्ठ नागरिक जिउँदो देवता हुन् भन्दा फरक पर्दैन । जीवनका असंख्य उकाली–ओराली पार गरी असीमित ज्ञान, सीप र अनुभव सँगालेका ज्येष्ठ नागरिकलाई सलाम छ । यथार्थमा, ज्येष्ठ नागरिक ज्ञान र अनुभवले भरिपूर्ण व्यक्ति हुन् ।
संयुक्त राष्ट्रसंघले सन् १९९१ अक्टोबर १ देखि इन्टरनेशनल डे अफ ओल्डर पर्सन्स (अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस) को आरम्भ गरेको हो ।
विश्वमा ६० वर्ष माथिको जनसंख्या १३ प्रतिशत छ भने नेपालमा १० प्रतिशत रहेको अनुमान छ ।
घरमा ज्येष्ठ नागरिक हुनु, लच्छिनको प्रतीक मानिन्छ । जुन घरमा ज्येष्ठ नागरिक हुन्छन्, ती घरमा साक्षात भगवानको बास हुन्छ भनिन्छ ।
नेपालको संविधानकोे धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनिएको छ । ज्येष्ठ नागरिक सम्बन्धी ऐनमा ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, निजहरूमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी निजहरूप्रति श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्ने भनिएको छ । सो ऐनमा ज्येष्ठ नागरिकलाई सम्मान गर्नु सबैको कर्तव्य हुनेछ भन्नुका अतिरिक्त उहाँहरूको पालनपोषण तथा हेरचाह गर्नु परिवारको प्रत्येक सदस्यको कर्तव्य हुनेछ भनिएको छ । ज्येष्ठ नागरिकहरूलाई सार्वजनिक यातायातमा दुई सिट आरक्षण हुने र ५० प्रतिशत भाडामा छुट हुनेछ भनिएको छ । यी सबै प्रयोजनका लागि ज्येष्ठ नागरिकलाई राज्यले परिचयपत्र उपलब्ध गराउने गरेको छ ।
सरकारले हाल ज्येष्ठ नागरिकलाई मासिक रु.४ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिने गरेको छ भने १ लाख रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य बीमा गर्ने गरेको छ । अल्जाइमर पीडित ज्येष्ठ नागरिकको औषधि उपचार खर्च बापत मासिक रु.५ हजार दिने व्यवस्था गरेको छ ।
नेपाल सरकारले भने प्रत्येक वर्ष पुस ११ गतेका दिनलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने घोषणा गरेको छ । २०५१ साल पुस ११ गतेका दिन ज्येष्ठ नागरिकलाई मासिक रु.१०० भत्ता दिन आरम्भ गरिएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । यसरी राज्यबाट ज्येष्ठ नागरिकको सम्मानमा एउटा थप पहल गरिएको छ ।