विराटचोकः आज तराईका आदिवासी थारु तथा तराई मूलका बासिन्दाले नेपाल, भारतका साथै विश्वका धेरै देशमा भगवान जीतमहान गोँसाईको श्रद्दापूर्वक ढंगले आमाहरुले छोराछोरीको रक्षकालागि जितिया पर्वमा व्रत बस्ने चलन रहेको छ ।
यो व्रत मातृस्नेह र मातृवात्सल्यको एउटा अद्भूत उदाहरण हो । अश्विन कृष्ण पक्षको सप्तमी देखि नवमीसम्म मनाइने यो पर्वको प्रथम दिनलाई नहाई–खाई अर्थात् एकाविहानै उठी नजिकको जलाधार अथवा नदीमा गएर स्नान गरी तोरीको तेल र ‘खर’ चढाउने परम्परा रहिआएको छ ।
दोस्रो दिन जीवितपुत्रिकाको दिन अर्थात् ‘अष्टमी’ को दिनलाई ‘खर दिन’ पनि भनिन्छ । खर भनेको एक प्रकारको घाँस हो । यसलाई विभिन्न धार्मिक सामाजिक कार्य लगायत गाउँतिर घरको छाना छाउन पनि प्रयोग गरिन्छ ।
तेस्रो दिनलाई पारण भनिन्छ र यस दिन खाना खाइन्छ । तिथि बढेमा कहिलेकाहीँ तीन दिनसम्म निर्जल व्रत बस्नुपर्ने पनि हुन्छ ।
थारु समुदायमा जितियालाई विजयको रुपमा लिँदै भगवान बिष्णु, शिव र भगवान सूर्यलाई पूजा अर्चना गरी पारम्परिक गीत, सङ्गीतका साथमा नाचगान गरिन्छ ।