विराटचोकः आफ्नो जीवन यति दुःखका साथ बित्छ भनेर मोरङको सुन्दरहरैंचा नगरपालिका–१ का वेदबहादुर भुजेलले सपनामा पनि सोच्नुभएको थिएन ।
वैदेशिक रोजगारीका क्रममा साउदी अरब पुगेका भुजेलले रोजगारीको क्रममा जति दुःख पाउनुभयो त्योभन्दा बढी मानसिक पीडा अहिले स्वदेशमा भोगिरहनुभएको छ । शुरुमा काम गर्न गएको कम्पनीले उचित पारिश्रमिक नदिएपछि उहाँ भागेर अर्काे कम्पनीमा गएर अवैध रुपमा काम गर्न थाल्नुभयो । काम गर्ने क्रममा एक दिन असावधानीवश चलेको मेसिनले उहाँलाई पर हुत्याइदियो । अचेत अवस्थाका उहाँलाई कम्पनीमा कार्यरत कामदारले अस्पताल पुर्याए । अवैध रुपमा काम गर्ने कर्मचारी हुनाले कम्पनीले उहाँको उपचार खर्च नतिरेपछि उहाँ समस्यामा पर्नुभयो ।
४ महिनासम्म सघन उपचार कक्षमा उहाँको उपचार भएपछि नेपाली दूतावासको आश्रयस्थलमा २ वर्ष बस्नुभयो । अस्पतालमा लागेको खर्च २ करोड ५७ लाख रुपैयाँ सहयोग जुटाएपछि उहाँ नेपाल फर्कन सफल हुनुभयो । सुन्दरहरैंचाका तत्कालीन नगरप्रमुख शिवप्रसाद ढकालको पहलमा मोरङ–सुनसरी सेवा समाज उर्लाबारीका युवा कुमार कार्की र गैर आवासीय नेपाली संघ (एनआरएन) का प्रतिनिधिहरूको सहयोगमा उपचार खर्च र घर आउने व्यवस्था भएको उहाँ बताउनुहुन्छ ।
साउदी अरबमा उपचार गर्ने क्रममा नजिकको आफन्तले कागजपत्रमा हस्ताक्षर गर्नुपथ्र्याे । उहाँका सहोदर दाजु साउदी अरबमै भएकाले उहाँले गएर हस्ताक्षर गर्नुभयो । तर, अवैध रुपमा बसेको व्यक्तिको कागजपत्रमा सनाखत गरेको आरोपमा उहाँमाथि अप्ठ्यारो अवस्था आएपछि उहाँ पनि कम्पनी छाडेर हिँड्नुभयो । हालसम्म दाजुको अवस्था थाहा हुन नसकेको उहाँ बताउनुहुन्छ । दाजु सम्पर्कविहीन भएपछि हाल भाउजू पनि कुबेत जानुभएको उहाँले बताउनुभयो ।
स्वदेश फर्केपछि उहाँको जीवन झनै कष्टकर बन्यो । बैशाखी टेकेर पनि राम्ररी उभिन नसक्ने अशक्त शरीर लिएर फर्किएपछि उहाँको दाम्पत्य जीवन पनि टुट्यो । प्रेम विवाह गरेकी श्रीमतीबाट सम्बन्ध विच्छेदको उपहार पाएपछि भाँचिएको मन लिएर उहाँ जीवन बिताइरहनुभएको छ ।
६२ वर्षीया आमा लक्ष्मी भुजेलले छोराको हेरचाह गर्नुहुन्छ । तर आम्दानीको स्रोत नहुँदा र नगरपालिकाले अपाङ्गता परिचयपत्रको रातो कार्ड बनाउन नमान्दा हातमुख जोड्न समस्या हुने गरेको आमा लक्ष्मी भुजेल बताउनुहुन्छ । अपाङ्गता परिचयपत्रको रातो कार्ड बनाउन पाए जीवन चलाउन केही सहज हुने उहाँको भनाइ छ ।