काठमाडौंः सर्वसाधारणबाट पूँजी सङ्कलनका लागि अनुमति माग्दै अर्थात् आईपीओ निस्कासनको अनुमति मागेका ३५ कम्पनीको निवेदन नेपाल धितोपत्र बोर्डमा चाङ लागेर बसेका छन् ।
गत पुस १२ गते बसेको लेखा समितिको बैठकले आइपीओ निष्कासनमा बेथिति भएको भन्दै ९० रुपैयाँभन्दा बढी नेटवर्थ भएका कम्पनीलाई मात्रै आईपीओ जारी गर्न दिने गरी कार्य सम्पादन गर्न बोर्डलाई निर्देशन दिएपछि बोर्डले आइपीओ बारे कुनै निर्णय लिन नसकेको बताइएको छ ।
नेटवर्थ ९० भन्दा कम भएका कम्पनीलाई आईपीओ बिक्री गर्न नदिने व्यवस्था नभए पनि लोखा समितिको निर्देशनले रोकिएको बताइएको छ ।
अनुमति पर्खेर बसेका कम्पनीहरुमा १७ वटा जलविद्युत समूहका छन् । त्यस्तै, ८ वटा अन्य समूहका, ६ वटा उत्पादन तथा प्रशोधन समूहका र २ वटा होटल तथा पर्यटन समूहका रहेका छन् । लगानी समूह र लघुवित्त समूहका एकएक वटा कम्पनी आइपीओ अनुमतिको पर्खाइमा रहेका छन् । रिलायन्स स्पिनिङ मिल्सको आइपीओ स्वीकृत पाए पनि विवादका कारण सो कम्पनीको पनि आईपीओ निस्कासन प्रक्रिया रोकिएको छ ।
यी कम्पनीले १६ करोड ६ लाख ११ हजार २ कित्ता आइपीओ ल्याउने तयारीमा छन् । यी कम्पनीले आइपीओ बिक्रीबाट २६ अर्ब ८१ करोड ३२ लाख ८७ हजार ८३४ रुपैयाँ संकलन गर्नेछन् । ५ वटा कम्पनीले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने अनुमति मागेका छन् ।
लेखा समितिले नेटवर्थ ९० प्रतिशत भन्दा बढी भएका कम्पनीलाई मात्र आइपीओ बिक्रीका लागि दिनु भनेर लिखित निर्देशन दिएकाले केही जलविद्युत कम्पनीको आइपीओ रोकिने बताइएको छ ।
लेखा समितिले अधिकांश कम्पनीहरुले पछिल्लो समय प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने प्रक्रियालाई प्राथमिकता दिएको भन्दै त्यसको असर दोस्रो बजारमा परेको निष्कर्ष निकालेको थियो । त्यस्तै, समितिले जलविद्युत् आयोजनाका लगानीकर्तालाई ऋण चुक्ता नहुन्जेलसम्म एक तिहाइ शेयर बेच्न नदिने गरी व्यवस्था गर्न पनि बोर्डलाई निर्देशन दिएको थियो ।
पाइपलाइनमा प्रिमियम मूल्यमा आईपीओ बिक्रीको तयारीमा रहेका कम्पनीमा हेम्स अस्पताल, सौर्य सिमेन्ट, मारुती सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र जगदम्बा स्टिल छन् ।
अङ्कित मूल्यमा आईपीओ बिक्री गर्न डिस होम मिडिया नेटवर्क, एपेक्स हस्पिटालिटी, एसवाई प्यानल, अर्चिड होल्डिङ्स, अन्नपूर्ण केवलकार, अरुण इन्भेष्टमेन्ट, स्वस्तिक लघुवित्त वित्तीय संस्था, एकर्ड फर्मास्युटिकल्स, ट्रेड टावर, कान्तिपुर टेलिभिजन नेटवर्क, आइएमई लिमिटेडले निवेदन दिएका छन् ।