पोखराः भारतीय पर्यटक लिएर आएको बस तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरा नजिकै दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
भदौ ४ गते ८ दिनको रुट परमिट लिएर बेलहिया नाकाबाट नेपाल प्रवेश गरेका २ बसमध्ये एउटा दुर्घटना भएको हो । पोखराबाट काठमाडौंका लागि छुटेको ४३ जना सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐना पहरानजिकबाट मर्स्याङ्दीमा खसेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । मृत्यु हुने सबैको शव आँबुखैरेनी गाउँपालिकामा राखिएको छ ।
मृत्यु भएका भारतीय नागरिकको शव तनहुँको दमौलीमै पोस्टमार्टम हुने भए पनि भारतीय दूताबासको आग्रहमा पोखरा लगेर परिवारलाई बुझाइने भएको छ ।