विराटचोकः नेपालमा विगत ६ वर्षदेखि अनौपचारिक रुपमा नै भए पनि विभिन्न कार्यक्रमका साथ कोदो दिवस मनाइन्छ । संयुक्त राष्ट्र सङ्घले सन् २०२३ लाई ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष’ कै रुपमा मनाएको थियो ।
नेपाल सरकारले औपचारिक घोषणा नगरेको भए पनि नेपालमा विगत ६ वर्षदेखि नै स्वतःस्फुर्त रुपमा साउन १५ लाई कोदो दिवसका रुपमा मनाउने गरिएको छ । बहुगुणी कोदोको प्रवर्द्धनमा जोड दिएर आजका दिन विभिन्न कार्यक्रम गर्ने गरिएको छ ।
कोदो रोप्ने मुख्य सिजन साउन भएकाले अनौपचारिक रूपमा १५ साउनलाई कोदो दिवसका रूपमा मनाउने गरेको बताइन्छ । नेपालमा धान, मकै र गहुँपछि कोदो चौथो मुख्य बालीका रुपमा रहेको छ । विगतमा कुअन्न भनिएको र गरिबको खान्कीका रूपमा लिने गरिएको कोदो पहिलेदेखि नै हेलामा परेको बाली हो । नेपालका सबैजसो जिल्लामा कोदो खेती हुन्छ ।
कोदो लामो समयसम्म भण्डारण गर्न सकिने अनाज हो । भकारी वा अन्य भाडामा १२/१५ वर्षसम्म राख्दा पनि सड्ने–गल्ने केही हुँदैन । विश्वको कुल उत्पादकको एक प्रतिशतमात्र नेपालले उत्पादन गर्छ । कोदो उत्पादनमा नेपाल विश्वको १५ औं स्थानमा पर्छ ।