विराटचोकः लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी योजना, शुभ लक्ष्मी कोषले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ ।
सो कोषले ७ दशमलव ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । हिजो साउन १४ गते बसेको कोषको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सो लाभांश वितरण प्रयोजनार्थ कोषले आज साउन १५ गते बुक क्लोज गर्ने भएकाले हिजो साउन १४ गतेसम्म कायम रहेका इकाईधनीहरुले, कोषले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
यो खुलामुखी योजना भएकाले इकाईधनीहरुले आफूले प्राप्त गर्ने लाभांश बराबरको रकमबाट सो लाभांश वितरणपश्चात समायोजित मूल्यमा लाभांश पुनः लगानी योजनामार्फत् थप इकाईहरु पनि खरिद गर्न सक्ने बताइएको छ । पुनः लगानी गर्न इच्छुक इकाईधनीहरुले साउन २१ गतेसम्म आफ्नो नाम दर्ता गर्नुपर्ने क्यापिटलले जानकारी दिएको छ ।