विराटचोकः दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदार अर्थात् केयर गिभरका रूपमा आफ्नो देशमा दुई हजार नेपालीलाई इजरायलले रोजगारी दिने भएको छ ।
सरकार–सरकार बीचको सम्झौता (जीटुजी) प्रक्रियाबाट कामदार लैजाने बारेमा नेपाल र इजरायलबीच सोमबार सहमति भएको छ । सो सहमतिअनुसार अब छिटै कामदार छनोट प्रक्रिया शुरु हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी र नेपालका लागि इजरायली राजदूत हनान गोदरबीच उक्त सहमति भएको हो ।
इजरायल जान चाहने नेपाली कामदारका लागि विभिन्न न्यूनतम योग्यता तोकिएको विभागले जनाएको छ । २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने, कम्तीमा १.५ मिटर उचाइ र कम्तीमा ४५ किलोग्राम तौल हुनुपर्ने मापदण्ड तोकिएको छ ।
कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी (एएनएम) वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिएको हुनुपर्ने, भिसाका लागि प्रक्रिया प्रारम्भ गर्दा आवेदकको राहदानीको म्याद समाप्त हुन कम्तीमा तीन वर्ष बाँकी रहेको हुनुपर्ने तथा विगतमा इजरेलमा गएर काम नगरेको र बाबु, आमा, पति, पत्नी, छोरा, छोरी इजरेलमा बसोबास नगरेको वा कार्यरत नरहेको मानसिक र शारीरिक रूपमा स्वस्थ नागरिक हुनुपर्ने शर्त राखिएको छ ।
इजरायल पठाइने कामदारमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष हुनुपर्ने र ती कामदारले त्यहाँको नियमानुसार साताको छ दिन कुल ४२ घण्टा काम गर्नुपर्ने हुन्छ । त्यसबाहेक अतिरिक्त समय (ओटी) काम गर्दा इजरायलको सरकारी नियमानुसार उनीहरूले थप पारिश्रमिक पाउने छन् । शुरुमा एक वर्षको करारमा जाने कामदारले त्यो अवधि थप गर्न सक्छन् र अधिकतम पाँच वर्षसम्म काम गर्न पाउने छन् ।
छनोट भएका नेपाली कामदारहरूले हवाई भाडा, स्वास्थ्य बीमा, पूर्वप्रस्थान अभिमुखीकरण, राहदानी, स्वास्थ्य परीक्षण, अङ्ग्रेजी भाषा परीक्षण, कोभिड परीक्षण, वैदेशिक रोजगार कल्याणकारी कोषका गर्नुपर्ने योगदान र सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने रकमहरु आफँै बेहार्नुपर्ने श्रम मन्त्रालयले जानकारी दिएको छ ।
आगामी दिनमा कृषिलगायत अन्य क्षेत्रमा समेत नेपाली श्रमिकहरू इजरायल लैजाने बारेमा समेत सकारात्मक छलफल भएको श्रम मन्त्रालयले जानकारी दिएको छ ।
गत वर्षको अक्टोबरमा इजरायल– हमास युद्ध शुरु भएदेखि सरकारले इजरायलमा कामदार पठाउने प्रक्रिया रोकेको थियो । हमासको हमलामा परेर लर्न एन्ड अर्न कार्यक्रममा गएका १० नेपाली विद्यार्थीको पनि मृत्यु भएको थियो । सो घटनामा बेपत्ता भएका नेपाली विद्यार्थी विपीन जोशीको अवस्था अझै अज्ञात छ ।