विराटचोकः गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा बढाएको छ । यद्यपि आम्दानी भने घटेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १४ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.४७ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
लघुवित्तको खुद ब्याज आम्दानी १५.२२ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४७.९४ प्रतिशत घटेको छ । लघुवित्तको सञ्चालन आम्दानी समीक्षा अवधिमा १७.०६ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३५.१२ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षमा १० करोड ७३ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्जमध्ये गत आर्थिक वर्षमा ६५ लाख रिभर्स भएपछि लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा बढेको बताइएको छ ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि ३ रुपैयाँ १७ पैसा बढेर १५ रुपैयाँ ५३ पैसा पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ४४.५६ गुणा रहेको छ । लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ७६ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, लघुवित्तको प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ५० पैसा रहेको छ ।
लघुवित्तको चुक्ता पूँजी ८.६० प्रतिशत तथा जगेडा कोष १५.४७ प्रतिशत बढेको छ ।







