लमजुङः नेपालमै पहिलो पटक लमजुङमा समलिंगी जोडीको विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाउँपालिकाले समलिंगी जोडीको विवाह दर्ता गरेको हो ।
सर्वोच्च अदालतको आदेश एवं राष्ट्रिय पञ्जीकरण विभागको निर्देशन अनुसार, दोर्दी गाँउपालिका–२ को वडा कार्यालयले लमजुङको दोर्दी गाँउपालिका–२ का रामबहादुर गुरुङ र नवलपरासीको कावासोती नगरपालिका–८ का सुरेन्द्र पाण्डेको समलिंगी विवाह दर्ता गरेको हो ।
गाउँपालिकाले विवाह दर्ता गर्न नमानेपछि समलिंगी अधिकारको वकालत गर्दै आएका अधिकारकर्मी सुनिलबाबु पन्तलगायतले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा उजुरी गरेका थिए । विभागले सर्वोच्च अदालतको आदेश अनुसार अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न निर्देशन दिएको थियो ।
सोही आदेश र निर्देशनअनुसार उनीहरुको विवाह दर्ता भएको हो ।