काठमाडौंः नेपाल एयरलाइन्सले अपाङ्गता भएका यात्रुहरूलाई टिकट शुल्कमा छुट दिने भएको छ । नेपाल वायु सेवा निगमले आन्तरिक हवाई उडानमा छुट दिने घोषणा गरेको हो ।
निगमले प्रत्येक आन्तरिक उडानमा दुई जना अपाङ्गता भएका यात्रुलाई हवाई शुल्कमा छुट दिने भएको हो । आन्तरिक उडानका लागि शुरुमा टिकट काट्ने अपाङ्गता भएका २ जनाले मात्र ५० प्रतिशत छुट पाउने निगमले जनाएको छ ।
विश्व अपाङ्गता दिवसका अवसरमा निगमले आइतबारदेखि लागू हुने गरी छुटको घोषणा गरेको हो । निगमका अनुसार रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचय पत्र लिएका र शुरूमा टिकट काट्ने दुई जना यात्रुले हवाई भाडामा ५० प्रतिशत छुट पाउने भएका हुन् ।
सुविधा लिनका लागि यात्रुहरूले सक्कल परिचयपत्र सहित निगमको कार्यालयमा सम्पर्क राख्नुपर्ने बताइएको छ ।